बाँकेमा कांग्रेसमाथि आक्रमण गर्नेलाई कारवाही नभएसम्म संसद चल्न दिन्नौं : देउवा
घोराही, भदौ २७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेमा आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण गर्नेहरुलाई कारवाही....
घोराही, भदौ २७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेमा आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण गर्नेहरुलाई कारवाही नभएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन्।
दाङको घोराहीमा शुक्रबार वीपी कोइरालाको शालिक अनावरण गर्दै सभापति देउवाले भने,‘बाँके घटनामा संलग्न दोषीमाथि कारवाही हुनुपर्छ। कारवाही गर्न सरकारले सकेन भने संसद चल्न दिन्नौं।’
देउवाले कोठाभित्र कार्यक्रममा भइरहेका बेला आक्रमण गर्ने जस्ता घृणित काम गर्न नेकपालाई चेतावनी दिए। ‘यो देश सबैको हो। सबैले कार्यक्रम गर्नु पाउनु पर्छ,’ उनले भने,‘शान्तिपूर्णरुपमा कार्यक्रम गर्ने हरेक नागरिकसँग अधिकार छ। बाँकेमा भएको घटनालाई सरकारले गम्भीर रुपमा लिएन भने त्यसको प्रतिकारमा हामी उत्रिन्छौं।’
देउवाले बाँकेमा कांग्रेस नेता तथा कार्यकर्तामाथि भएको आक्रमण आपराधिक भएको बताए। ‘म चेतावनी दिन चाहन्छु अब यस्तो काम सत्तारुढ दलबाट नहोस्,’ देउवाले भने।
देउवाले शान्तिपूर्णरुपमा कार्यक्रम गर्ने अधिकार संविधानले सबैलाई दिएकाले घटनाको कडा निन्दा गरे। उनले शान्तिपूर्ण कार्यक्रममाथि आक्रमण गरेर नेकपाका नेता तथा कार्यकर्ताले लोकतन्त्रको धज्जी उडाएको आरोप लगाए।
बिहीबार बाँकेको खजुरा गाउँपालिका–२ सितापुरमा आयोजित कार्यक्रममा नेकपाका कार्यकर्ताले आक्रमण गर्दा बाँके सभापति किरण कोइरालाको हात भाँचिएको थियो भने दर्जनौं नेता कार्यकर्ता घाइते भएका थिए।






