मोबाइल चोरीको आरोपमा पाँच युवक पक्राउ
बारा, माघ १७ : पसल फुटाई मोबाइल चोरी गरेको आरोपमा प्रहरीले पाँच युवकलाई पक्राउ गरेको छ।बाराको प्रसौनी गाउँपालिका–१ प्रसौनी टोलका २४ वर्षीय विशाल...
बारा, माघ १७ : पसल फुटाई मोबाइल चोरी गरेको आरोपमा प्रहरीले पाँच युवकलाई पक्राउ गरेको छ।
बाराको प्रसौनी गाउँपालिका–१ प्रसौनी टोलका २४ वर्षीय विशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र २३ वर्षीय रम्तुलाह अंसारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले बताए।
प्रसौनी गाउँपालिका–२ स्थित शुभश्री मोबाइल पसल फुटाई पसलमा रहेका विभिन्न कम्पनीका मोबाइल चोरी भएको थियो। प्रहरीले खानतलासी गर्दा प्रसौनी गाउँपालिका–१ मा विशाल मुखियाको घरमा तीनवटा झोलामा लुकाई राखेको मोबाइल फेला परेको थापाले बताए।
जसमा विभिन्न किसिमका मोबाइल सेट ९४ वटा, ब्याट्री, चार्जर, राउटर तथा सोही घरको पहिलो तल्लाको कोठामा भेटिएका थिए।
पक्राउ परेका पाँचै जनालाई डाँका चोरी मुद्दामा जिल्ला अदालतबाट पहिलोपटक दिन ५ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।











