कुमारीको प्रेम समाजको शत्रु दैत्यसँग
काठमाडौं अहिले जात्रामय छ । हनुमानढोका दरबारबाहिर तलेजु मन्दिरअगाडि यःसिं ठड््याइएसँगै काठमाडौंमा ईन्द्रजात्रा विधिवत् सुरुवात भइसक्यो ।
कुमारी, काठमाड....

काठमाडौं अहिले जात्रामय छ । हनुमानढोका दरबारबाहिर तलेजु मन्दिरअगाडि यःसिं ठड््याइएसँगै काठमाडौंमा ईन्द्रजात्रा विधिवत् सुरुवात भइसक्यो ।
कुमारी, काठमाडौं अनि ईन्द्रजात्रा । यी शब्दहरू एकआपसमा पर्यायवाचीजस्तैै भइसके । ईन्द्रजात्रा शुरु हुनेबित्तिकै आम नेपाली र विदेशी पर्यटकलाई समेत कुमारीको रथजात्राको व्यग्र प्रतीक्षा रहन्छ ।
कुमारी– विशेष गरी नेवाः समुदायकी आराध्यदेवी । देशको रक्षकको रूपमा आफ्नो रक्षक नेवाः समुदायले कुमारीको पूजा, आराधना गर्ने गर्दछन् । नेवाः समुदायमा बुद्धिस्ट समाजले पनि र शाक्त समाजले पनि कुमारीलाई पुज्ने गरेका छन् ।
कुमारीलाई शाक्त नेवाःहरूले तलेजु भवानीको रूपमा पनि हेर्ने गरेका छन् भने कौमारीको रूपमा लिने पनि गरिन्छ । हुन त कुमारीको बाहन पनि मयूर नै हो तर पनि यहाँनेर प्रश्न खडा हुन्छ कि कुमारी कसरी कौमारी हुन सक्छिन् ?
कुमारी आजीवन अविवाहित रहने प्रण गरेर बसेकी देवी भने कौमारी कुमारकी शक्ति । यहाँनिर स्मरणीय के छ भने हरेक नारी रजस्वलापछि शुद्ध भई कुमारी बन्छिन् भनी विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । सो हिसाबले कौमारी पनि कुमारकी शक्ति भए पनि रजस्वलापछि कुमारी नै हुन्छिन् भन्ने गरिएको छ ।
अग्निपूराणले भने चामुण्डाले कुमारीको रूप लिएको कुरा उल्लेख गरिएको छ । मल्लकालीन हस्तलिखित ग्रन्थ ‘कोमारी पूजा’मा अष्टमातृकालाई कुमारीको रूपमा वर्णन गरिएको छ ।
कुमारीलाई पार्वतीकै एउटा रूप पनि भनिएको छ । विगत कुनै एक समयमा मथुरासुर दैत्यले देशमा उत्पात मचाउँदै दुःख दिइरहेको थियो रे ! सो समयमा मानव जगतको उद्धार गर्न पार्वतीले मानव रूपमै जन्म लिने निधो गर्नुभएछ र नरदेवीको छोरी कुमारीको रूपमा पार्वतीले जन्म लिइन् रे ! समाजमा यो जनश्रुति पनि प्रचलित रहेको छ ।
बौद्ध धर्मावलम्बीहरूले भने कुमारीलाई वसुन्धराको रूपमा लिने गरेका छन् । साथमा बज्रदेवी पनि भन्ने गरेका छन् । आ–आफ्नो धर्म सँस्कृति अनुसार धार्मिकीकरण वा स्थानीयकरण हुनु भनेको त स्वाभाविक पनि हो । तर कुमारी कुनै हिन्दु वा बुद्धिस्ट परम्परा वा सँस्कृति नभई, स्थानीय परम्परा भन्न सकिन्छ ।
लोक उद्धारको लागि त्याग, वलिदान दिने एक स्थानीय महिलालाई समाजले देवीकै रूप दिए र देवीकै रूपमा पूजा गरे । कालान्तरमा यस परम्परालाई आआफ्नो धर्म अनुसार धार्मिकीकरण गरिँदै लगियो भन्न सकिन्छ ।
नेवाः समुदायको विशिष्ट परम्परा भन्न सकिन्छ कुमारी । विश्वभरीमै देशको पहिचान बनेको कुमारीको विगत अथवा ईतिहासलाई हेर्ने हो भने यसको शुरुवातको बारेमा किम्वदन्ति भनौं वा जनश्रुतिहरू समाजमा प्रचलित छ । हुन त यस्ता किम्वदन्तिलाई अध्ययन अनुसन्धानको क्षेत्रमा मौखिक ईतिहासको रूपमा लिइन्छ तरपनि यसको प्रामाणिकतामा भने प्रश्न उठिरहेकै हुन्छ ।
कुमारीको सम्बन्धमा समाजमा प्रचलित किम्वदन्तिलाई हेर्ने हो भने देशको रक्षा गर्ने कुमारीको प्रेम सम्वन्ध मानव समाजको शत्रु दैत्यसँग रहेको देखिन्छ । कुमारीको एक यूवकसँग प्रेम बसेछ । दुवै एकअर्कालाई खुब मन पराउने । तर, कुमारीलाई भने आफ्नो प्रेमी एक राक्षस भएको कुरा थाहा थिएन ।
एउटा अवस्था त्यस्तो पनि आइपर्यो जब कुमारीले आफ्नो प्रेम वा देशमध्ये कुनै एकलाई रोज्नुपर्यो । आफ्नो प्रेम रोजे देशै नरहने स्थिती थियो । तर देश रोजे आफ्नै प्रेमको बलिदान दिनुपर्ने ।
कुमारीले केही विचार गरिनन् र उनले देशलाई नै रोजेर आफ्नै हातले आफ्नो प्रेमीको हत्या गरिदिए र देशको रक्षा गरे । देश र देशवासीको रक्षाको लागि आफ्नो प्रेमको वलिदान दिने कुमारी त्यसपछि भने आजीवन अविवाहित नै रहने प्रण गरिन् ।
ऐतिहासिक प्रमाणकै कुरा गर्दा धेरैले कुमारीको ईतिहासलाई जयप्रकाश मल्लसँग जोड्ने गरेका छन् । राजा जयप्रकाश मल्ल तलेजु भवानीसँग पासा खेल्ने गर्थे रे । खेलको क्रममा तलेजु भवानी पर्दाभित्र बसेर पासा फ्याक्ने गर्थे ।
एकपटक पासा फ्याक्न पर्दाभित्रबाट तलेजु भवानीले हात निकाल्दा सुन्दर हात देखेर जयप्रकाशको मनमा पाप पलाएछ । जयप्रकाशले सोच्न थालेछ, ‘हातै यति सुन्दर छ भने अनुहार झन कति सुन्दर होला ।’ यसो सोच्दै जयप्रकाशले तलेजु भवानीको हात समाएर बाहिर तान्न खोजेछन् । यसैबेला तलेजु भवानी भने अलप भएछन् ।
जयप्रकाशले आलापविलाप गर्दै क्षमा मागेपछि आकाशवाणी भएछ, ‘तिमिले पाप चिताएको हुँदा अब म तिमीकहाँ कहिल्यै आउँदिन । तर एक शुद्ध कन्यालाई विधिपूर्वक कुमारी थापना गरी जात्रा चलाउनू । देश रक्षाको लागि म सोही कन्याको शरीरमा धारण भएर आउनेछु ।’ यसपछि जयप्रकाशले कुमारी थापना गरी कुमारीको रथयात्रा मात्र सुरु गरेनन्, कुमारी घर समेत बनाइदिए ।
योसँगै जयप्रकाश र कुमारीको अर्को एउटा जनश्रुतिलाई सिल्भां लेभीले पनि वर्णन गरेका छन् । एउटा शाक्य परिवारकी कन्यामा कुमारी चढेछ । यो कुरा टोलछिमेकीमा हल्ला हुँदै जयप्रकाश मल्लको कानसम्म पुगेछ ।
समाजमा अफवाह फैलायो भन्दै जयप्रकाशले सो कन्या र कन्याको परिवार समेतलाई देश निकाला गरिदिए । तर त्यहि रातमा जयप्रकाशकी रानीमै कुमारी चढेछ ।
यसपछि जयप्रकाशले आफुले भुल गरेको भन्दै सो कुमारी कन्या र परिवार समेतलाई देशमा फिर्ता बोलाई कन्यालाई कुमारीको रूपमा रथजात्रा नै गरिदिए।
अहिले वसन्तपुरमा अवस्थित कुमारी घरको निर्माण नेपाल सम्वत ८७७ तिर भएको देखिन्छ । त्यो समय भनेको जयप्रकाशकै शासनकाल हो । कुमारी घरको निर्माण त्यहि बेलामा भएको र रथजात्रा पनि त्यही बेला सुरुवात भएको हुनसक्छ तर इतिहास खोतल्दा कुमारी परम्परा नै त्यही बेलाबाट सुरुवात भएको मान्न भने सकिन्न ।
जयप्रकाशभन्दा अगाडि नै नेवाः समाजमा कुमारीको पूजा गर्ने परम्पराको शुरुवात भइसकेको देखिन्छ । जयप्रकाश मल्लभन्दा पहिले प्रताप मल्लले कुमारीको जात्रा चलाएको कुरा पनि इतिहासका पानाहरूमा भेट्टिन्छ ।
अब प्रताप मल्लले कुमारीको जात्रा शुरु गरेको सम्वन्धमा रहेको किम्वदन्तिको बारेमा पनि जानकारी लिऊँ । भनिएअनुसार, एकपटक प्रताप मल्लले सपनामा आफुलाई कुमारीले घाँटी समाई विष्णुमतीको किनारमा फालिदिएको देखेछन् ।
भोलिपल्ट एकजना सात वर्षीया कन्यालाई पूजा गर्न जाँदा कन्याले प्रताप मल्ललाई विष्णुमति किनारमा घुमाउन लग्ने भए मात्र पूजा गर्न दिने भनेछन् । यो कुरा सुनेपछि आफूलाई सपनामा घाँटी समाई फालिदिने कुमारी यिनै हुन् भनेर चिनी रथजात्रा गरे ।
कुमारीको इतिहास प्रताप मल्लदेखि मात्र पनि देखिँदैन । नेपाल सम्वत ४०६ मा कुमारीको रथजात्राको साथमा कुमारीको पूजाविधान लेखिएको हस्तलिखित सामग्री भेट्टिएको छ । यो समय भनेको अनन्त मल्लको शासनकाल हो ।
कुमारीको रथजात्राको सवालमा विभिन्न विचारहरू देखिएका छन् । तर ईन्द्रजात्रामा कुमारीको रथजात्राको सुरुवातको सम्बन्धमा भने इतिहासकारहरूले एकमत भएर जयप्रकाश मल्लकै नाम लिने गरेको छ ।
प्रताप मल्ल र अनन्त मल्लको पालामा भएको कुमारीको रथजात्राको स्वरूप फरक हुनसक्छ । कुमारीको अस्तित्व भने काठमाडौं उपत्यकामा लिच्छवीकालमै स्थापित भइसकेको देखिन्छ ।
रातो मच्छिन्द्रनाथलाई बन्धुदत्त आचार्य र रथचक्र ज्यापुको साथमा राजा नरेन्द्रदेवले कामुनीबाट नेपाल भित्य्राएका थिए ।
रातो मच्छिन्द्रनाथले नेपालमा कुमारी थापना गरेपछि मात्र आउने भनेपछि आचार्य बन्धुदत्तले हत्त न पत्त आफ्नै छोरीलाई कुमारी बनाई स्थापना गरेको उल्लेख रहेको छ । यो कलिगत सम्वत ३७०० तिरको घटनाक्रम भयो । गुणकामदेवले पनि आफ्नो शासनकालमा कुमारी थापना गरेको भनिएको छ ।
यसरी नेपालको कुमारी परम्परा र रथजात्राको शुरुवातको सम्वन्ध यकिनका साथ तिथिमिति भन्न सकिने अवस्था त छैन । तर समाजमा प्रचलित यी विभिन्न जनश्रुतिहरू र प्राप्त ऐतिहासिक प्रमाणको आधारमा नेपालमा कुमारी परम्पराको शुरुवात भएको निकै लामो समय भइसकेको छ भन्ने चाहिँ पुष्टि हुन्छ।











-1784808429.png)