Kathmandu Press

वाग्मती सफाइ महाअभियान ४५५औँ हप्तामा

वाग्मती सफाइ महाअभियान ४५५औँ हप्तामा

काठमाडाैं, माघ १५  : वाग्मती सफाइ महाअभियानको ४५५औँ हप्तामा शङ्खमुल पुलमुनिको वाग्मती किनारमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरी विभिन्न समूहमा बाँडिएर नदी सफाइ महाअभियानलाई निरन्तरता दिइएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए। माघको चिसो भए पनि अभियानकर्मी बिहान ७ बजे नै वाग्मती किनारमा भेला भएका थिए।

सफाइमा अधिकारसप्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, वाग्मती सफाइ अभियानकर्मी, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कर्मचारीको पनि सक्रियता थियो।

Hardik ivf

विसं २०७० जेठ ५ गतेदेखि हप्तामा दुई घण्टा देशका लागि स्वयंसेवा भन्ने नाराका साथ सफाइ महाअभियान सुरु भएको हो । महाअभियान सुरु भएपछि चिसो, गर्मी, वर्षात्, भूकम्प, नाकाबन्दी, कोरोना महामारी, चाडबाडलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन।

वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर यसका सहायक नदीका साथै चचक्रपथका विभिन्न भागमासमेत सफाइ अभियान सुरु भएको छ। हाल काठमाडौँ उपत्यकाका २५ स्थानमा सफाइ भइरहेको जनाइएको छ। यसैबीच आज गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथको उत्तरी र पश्चिमी भेग, ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्ते खोलालगायत स्थानमा पनि सफाइ भएको छ।

मनोहरा सफाइ अभियानको २५४औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटी क्षेत्रको नदी किनारमा सफाइ गरी दुई गाडी फोहर व्यवस्थापन गरिएको छ। सफाइमा ७० जना अभियानकर्मी तीन समूहमा विभाजित भएर सहभागी भएको संयोजक चन्द्र दङ्गालले राससलाई जानकारी दिए।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ अभियान सुरु भएको छ। वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशका १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ।

प्रकाशित मिति: २०:४४ बजे, शनिबार, माघ १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्