आयस्रोत नहुँदा वृद्धाश्रम सञ्चालनमा समस्या
रूपन्देही, माघ १५ : रुपन्देहीको ओमसतिया–४ वसन्तपुरमा सञ्चालित वृद्धाश्रममा आर्थिक अभाव भएको छ। श्री सत्यसाई वृद्ध सेवा आश्रमको नाममा वृद्धहरूलाई सेवा दिइरहेको यो...
रूपन्देही, माघ १५ : रुपन्देहीको ओमसतिया–४ वसन्तपुरमा सञ्चालित वृद्धाश्रममा आर्थिक अभाव भएको छ। श्री सत्यसाई वृद्ध सेवा आश्रमको नाममा वृद्धहरूलाई सेवा दिइरहेको यो वृद्धाश्रमको स्थायी आम्दानीको स्रोत नहुँदा सञ्चालनमा समस्या देखिएको हो।
विसं २०५९ मा स्थापना भएको वृद्धाश्रममा नेपालका धेरै जिल्लाका वृद्धवृद्धा आश्रयका लागि यहाँ आउने गरेका छन्। आश्रम व्यवस्थापन शाखाका अनुसार सरदर ३० जनाको क्षमता रहेको आश्रममा हाल नौ आमा र पाँच बुवा गरी जम्मा १४ जनाले आश्रय लिइरहेका छन्। परिवारबाट अपहेलित भई वृद्धाश्रममा आउने आमाबुवाको पालनपोषणका लागि हाल आश्रममा तीन कर्मचारी र केही स्वंयसेवक खटिए पनि आर्थिक अभाव टार्नका लागि आर्थिक स्रोत कमजोर रहेको आश्रम सञ्चालक समितिले जनाएको छ।
मासिकरूपमा दूध, तरकारी, ग्यास, विद्युत् र पानीको खर्च मात्र रु ३५ देखि रु ४० हजारसम्म हुने भन्दै वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष माया खरालले अन्य खाद्यान्न स्थानीय र सङ्घसंस्थाको सहयोगमा चलेको जानकारी दिए। वृद्धाश्रम सञ्चालनका लागि जिन्सी र खाद्यान्न सामान स्थानीयवासी र सङ्घसंस्थाले सहयोग गर्ने गरे पनि आर्थिक सहयोग भने सधैँ अभाव रहेको वृद्धाश्रम सञ्चालक समितिले जनाएको छ।
वृद्धाश्रममा आश्रय लिएका आमाबुवाका लागि मासिकरूपमा स्वास्थ्योपचार गर्नसमेत स्थायी व्यवस्था नहुँदा प्रायः दाताहरूलाई गुहार्नुपरेको आश्रम व्यवस्थापक केशव पौडेलले बताउछन। वृद्ध अवस्थामा समाजले समेत वास्ता नगर्दा वृद्धाश्रममा पुग्ने वृद्ध आमाबुवाको आश्रमलाई स्थानीय सरकार तथा प्रदेश र केन्द्रीय सरकारले समेत चासो दिएको छैन। वृद्धाश्रममा आश्रय लिइरहेकी ७५ वर्षीया वृद्ध आमा रानी खाँणले भने, 'परिवारमा आमाबुवा वृद्ध भइसकेपछि उहाँहरूलाई घृणाको दृष्टिले हेर्ने छोराछोरीलाई समेत कर्तव्य र संस्कार सिकाउनु आवश्यक छ।'
खाँण भन्छन, 'वृद्धहरू केवल बाँच्नका लागि मात्र वृद्धाश्रममा आउने गरेका छन् । उहाँहरूको नयाँ सोच तथा जाँगर हुँदैन। बचाउने काम राज्यको हुनुपर्दछ।' मानिस जन्मेपछि मृत्यु अवश्य छ। बच्चा, युवा र वृद्धावस्था हुनु प्रकृतिको नियम हो। सबै मानिसको चक्र जन्म र मृत्यु हो। सरकारले पनि व्यवस्थित वृद्धाश्रमको सञ्चालन तथा सङ्घसंस्थाबाट सञ्चालनमा रहेका यस्ता आश्रमको अनुगमन र रेखदेख गर्नुपर्ने वृद्धवृद्धा बताउँछन्।
समितिका अध्यक्ष खरालका अनुसार नेपालमा पछिल्लो चरणमा समाजमा वृद्धहरूको रेखदेख र व्यवस्थापनमा समस्या देखिएको छ। वृद्धावस्थामा पुगेपछि घरमा परिवारका सदस्यबाट अपहेलित हुनुपर्ने र वृद्धाश्रममा राज्यको नजर नपुग्नु दुर्भाग्य छ। यसका लागि समाज रुपान्तरणसँगै मानिसले बाँच्न पाउने अधिकारको संरक्षण गर्नु र वृद्ध भइसकेका मानिसका लागि छोराछोरीले पालनपोषण गर्नु पर्दछ। वृद्धावस्थामा सहाराविहीन भएका आमाबुवाका लागि राज्यले उनीहरूका रेखदेख र सुरक्षा गर्नु आजको आवश्यकता देखिन्छ। यहाँ सञ्चालित श्री सत्यसाई वृद्ध सेवा आश्रमलाई पनि स्थानीय र सङ्घसस्थाका साथै राज्य तहबाट पनि सहयोग हुनुपर्दछ।











-1782735246.jpeg)