आहा गोल्डको उपाधिका लागि मनाङ र एपीएफ भिड्दै
पोखरा, माघ १५: आहा-रारा गोल्डकपको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लब भिड्न लागेका छन्।मछिन्द्र क्लबलाई पराजित गर्दै एपीएफ र त्रिभुवन...
पोखरा, माघ १५: आहा-रारा गोल्डकपको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लब भिड्न लागेका छन्।
मछिन्द्र क्लबलाई पराजित गर्दै एपीएफ र त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मनाङ फाइनलमा पुगेका हुन्। यसअघि एपिएफ २०६८ सालमा आहा-राराको उपविजेता बनेको थियो।
मनाङ भने आहा रारा गोल्डकपको सर्वाधिक विजेता टोली हो। मनाङले ६ पटक उपाधि जितिसकेको छ।
प्रिम्याच कन्फरेन्समा एपीएफका प्रशिक्षक कुमार थापाले यस पटक उपाधि जित्ने मनोबलको साथ मैदानमा उत्रिने बताए। त्यस्तै, मनाङका प्रशिक्षक फुजा तोपेले विगतका संस्करणको तुलनामा एपीएफले यस संस्करणमा निकै सुधार गरेको भए पनि आफूले त्यसैअनुसार तयारी गरेको बताए।
गोल्डकपको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार नगद पुरस्कार पाउनेछन्। प्रतियोगितामा संकटा क्लब‚ नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, एपिएफ क्लब, मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी क्लब, सहारा क्लब र बिवाइएसी मिनेसोटा युएसए सहभागी थिए।











