Kathmandu Press

बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता

काभ्रे, माघ १५ : बनेपा र पाँचखाल नगरमा दुई खानेपानी आयोजना निर्माण गर्न सम्झौता गरिएको छ।खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ र...
बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता

काभ्रे, माघ १५ : बनेपा र पाँचखाल नगरमा दुई खानेपानी आयोजना निर्माण गर्न सम्झौता गरिएको छ।

खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ र १४ वडा तथा पाँचखालको ५ नम्वर वडाका नागरिकका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन दुई उपभोक्ता समिति र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बीच सम्झौता भएको हो।

बनेपास्थित साँगा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर तामाङ, पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सीताराम ढुङ्गाना र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठबीच शुक्रबार बनेपामा छुट्टाछुट्टै सम्झौता गरिएको छ। दुवै खानेपानी आयोजनाअन्तर्गत ‘एक घर–एक धारा’ बितरण हुनेछ।

यसै आर्थिक वर्षबाट रु नौ करोड ८४ लाख ६९ हजार ९०८ को लागतमा निर्माण सुरु हुने साँगा खानेपानी आयोजना आर्थिक वर्ष २०८१÷८२ भित्र सम्पन्न हुने जनाइएको छ। यो आयोजनाबाट बनेपा नगरस्थित १३ र १४ वडाका ८७८ परिवारका पाँच हजार २१२ नागरिक लाभान्वित हुने खानेपानी आयोजना प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले बताए।

आयोजनाको कूल लागतको ८० प्रतिशत रकम सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र २० प्रतिशत नागरिकले जनश्रमदान गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

यस्तै, पाँचखाल नगरको ५ नम्वर वडामा ८८४ परिवारका पाँच हजार २६३ नागरिकका लागि निर्माण हुने खानेपानी आयोजना निर्माणका लागि रु दश करोड ५८ लाख ५३ हजार ४८४ को लागत हुनेछ। सरकारको ८० प्रतिशत र २० प्रतिशत नागरिकले जनश्रमदान गर्नुपर्ने सम्झौता भएको छ। (रासस)

प्रकाशित मिति: ०७:५२ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्