प्रत्येक ४० सेकेन्डमा एक जनाले गर्छन् आत्महत्या
काठमाडाैं, भदाै २७ : विश्वमा प्रत्येक ४० सेकेन्डमा एक व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ।
विश्व स्वास्थ्य स....
काठमाडाैं, भदाै २७ : विश्वमा प्रत्येक ४० सेकेन्डमा एक व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस आडानुन गेब्रियसुसले प्रत्येक ४० सेकेन्डमा एक व्यक्तिले आत्महत्या गर्ने गरेको बताएका छन्।
विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा जेनेभामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गेब्रियसुसले भने,“प्रत्येक मृत्यु परिवार, नातेदार, साथीभाइ र सहकर्मीका लागि दु:खद घटना हो।”
सबै देशहरूले आत्महत्या रोकथाम सम्बन्धी सिद्ध रणनीतिहरू राष्ट्रिय स्वास्थ्य र शिक्षा कार्यक्रममा दीगो तरिकाले समावेश गर्नुपर्ने उनले बताए। यसो गरे धेरै आत्महत्याहरू रोकथाम हुने उनले बताए।
आत्महत्याबारे विश्व स्वास्थ्य संठगनको पहिलो प्रतिवेदन सन् २०१४ मा आएको थियो। त्यसयता राष्ट्रिय आत्महत्या रोकथाम रणनीति भएका देशहरूको संख्या पनि बढेको छ। अहिले ३८ देशमा यसप्रकारको रणनीति छ। यद्यपि यो अझै कम भएको र सरकारहरूले यसको स्थापनाका लागि प्रतिबद्धता जनाउनुपर्ने विश्व स्वास्थ्य संगठनले बताएको छ।
प्रत्येक वर्ष करिब आठ लाख मानिसले आत्महत्या गर्छन्। प्रत्येक मृत्युअघि २० पटकभन्दा धेरै आत्महत्याका प्रयास गरिएका हुन्छन्। प्रत्येक वर्ष युद्ध र हत्याभन्दा धेरै आत्महत्याबाट मानिसको ज्यान गरेको छ। विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार १५ देखि २९ वर्षका मानिसको मृत्युको दोस्रो प्रमुख कारण नै आत्महत्या हो।
विश्वभर ७९ प्रतिशत आत्महत्या न्यून र मध्यम आय भएका देशमा हुने गर्छ। तर उच्च आय भएका देशमा आत्महत्याको दर सबैभन्दा धेरै छ। धनी देशहरूमा महिलाभन्दा पुरूषहरू तीन गुणा बढी आत्महत्या गर्छन्। गरिब देशहरूमा यो दर बढी समान देखिन्छ।
उच्च आय भएका देशमा आत्महत्या र मानसिक स्वास्थ्यबीच सम्बन्ध भएको देखिएको छ। तर धेरै आत्महत्याहरू संकटको क्षणमा आवेगमा आएर हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। “द्वन्द्व, विपद्, हिंसा, दुर्व्यवहार वा क्षतिको अनुभव र एक्लोपनको बोध आत्महत्या गर्ने व्यवहारसँग नजिकबाट जोडिएको छ,” विश्व स्वास्थ्य संगठनले भनेको छ।
विभेदको सामना गर्ने जोखिममा रहेका समूहमा आत्महत्याको दर उच्च छ। हालसम्म पहिले नै आत्महत्याको प्रयास गरेका व्यक्तिले नै जोखिममा रहेको देखिन्छ। यो जटिल मुद्दाले विभिन्न क्षेत्रबीच समन्वयको माग गरेको छ। यसो गर्न सके रोकथाम पनि वृद्धि हुन्छ।
मानसिक स्वास्थ्य समस्यालाई लिएर हुने लाञ्छना, आत्महत्याबारे चेतनाको अभावलाई मुख्य स्वास्थ्य समस्या नमान्नु र यसबारे खुला रूपमा छलफल नहुनुले आत्महत्या गर्नेबारे विचार गरिरहेकाहरूले पर्याप्त सहयोग नपाएको देखाउँछ।
रोकथाम निर्देशिकामा आत्महत्या सम्बन्धी व्यवहारको मूल्याङ्कन र व्यवस्थापन गर्न स्वास्थ्यकर्मी र गैर-विशेषज्ञलाई राम्रो तालिम दिनुपर्ने विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ। त्यसबाहेक, मानसिक स्वास्थ्य समस्याको प्रारम्भिक उपचार, मद्यपान र लागूपदार्थ प्रयोगको प्रभावकारी अनुगमन, सञ्चारमाध्यमको जिम्मेवार रिपोर्टिङ र आत्महत्या गर्ने माध्यममा पहुँच न्यूनीकरण पनि गर्नुपर्छ।
विष सेवन कमैले प्रयोग गर्ने विधि भए पनि सबैभन्दा प्रभावकारी रणनीति भएको संगठनले जनाएको छ। विश्वभर भएका आत्महत्यामध्ये करिब २० प्रतिशतले विष सेवन गरेका हुन्छन्। आत्महत्याका प्रयासहरूमा प्रयोग भएका धेरै रसायन अत्यधिक विषाक्त भएकाले धेरैको ज्यान जाने गरेको छ।
अत्यधिक जोखिमपूर्ण विषादी नियमन भएपछि श्रीलङ्कामा आत्महत्याको दर ७० प्रतिशत घटेको छ। दर्श वर्षको अवधिमा अनुमानित ९३ हजारको ज्यान जोगिएको छ।
त्यसैगरी, विश्व स्वास्थ्य संगठनकै प्रतिवेदन अनुसार सन् २०११ देखि २०१३ सम्म गणतन्त्र कोरियामा विष सेवनबाट आत्महत्या गर्ने घटना आधा घटेको छ।
विश्व स्वास्थ्य संगठनले आत्महत्यालाई सार्वजनिक स्वास्थ्यको प्राथमिकतामा राखेको छ। सन् २००८ मा संगठनको मेन्टल हेल्थ ग्याप एक्सन प्रोग्रामले मानसिक, स्नायुविज्ञान र लागूपदार्थको प्रयोग सम्बन्धी समस्याका लागि सेवा बढाउन प्रमाणमा आधारित निर्देशिका सुरू गरेको थियो।
संगठनको सन् २०१३ २०२० को कार्ययोजनाले सन् २०२० सम्म विश्वभर आत्महत्याको दर १० प्रतिशतले घटाउने लक्ष्य लिएको छ। संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्य अनुरूप तय गरिएको कार्ययोजनाले सन् २०३० आत्महत्या दर एक तिहाइले घटाउने लक्ष्य पनि लिएको छ।