Kathmandu Press

माझकोट स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन

स्याङ्जा, माघ १३ : स्याङ्जाको वालिङ नगरपालिका-३ माझकोट स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरी सेवा दिन थालिएको छ।बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले स्वास्थ्य मापदण्डअनुसार...
माझकोट स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन

स्याङ्जा, माघ १३ : स्याङ्जाको वालिङ नगरपालिका-३ माझकोट स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरी सेवा दिन थालिएको छ।

बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले स्वास्थ्य मापदण्डअनुसार गर्नुपर्ने स्वास्थ्य परीक्षणसँगै संस्थागत सुत्केरी हुने क्रम बढेको स्वास्थ्यचौकी प्रमुख संगीता गहतराजले जानकारी दिए।

Hardik ivf

उनले भने, ‘बर्थिङ सेन्टर स्थापना भई सेवा प्रवाह थालेसँगै अहिले गर्भवतीहरु नियमित स्वास्थ्य चौकीमा आउने क्रम बढेको छ।’ घरघरमै वा वालिङ, पोखरा लगायतका अस्पतालमा गएर सुत्केरी हुने गरेकामा अहिले भने गर्भवती भएदेखि नै नियमित स्वास्थ्यकर्मीको परामर्शअनुसार स्वास्थ्य परीक्षणमा आउने गरेका उनले जानकारी दिए।

‘गर्भवती भएदेखि नै उहाँहरुको तथ्याङ्क राखेर नियमित निगरानी र आवश्यक परामर्श गरिरहेका हुन्छौं,’ उनले भने, ‘बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै सुत्केरी हुन स्वास्थ्य संस्थामा आउनुभएका महिलाहरुलाई अहिलेसम्म फर्काउनुपरेको छैन।’ बजारदेखि अलिक टाढा र यातायातका दृष्टिले भनेको समयमा सवारी साधनहरु नपाइने समस्याले गर्भवतीलाई बोकेर वालिङ लैजानुपर्ने अवस्था थियो अहिले भने त्यो समस्या समाधान भएको वडाध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिए।

‘पहिला बाटोघाटोको पनि असुविधा थियो, समयमा गाडी पाइँदैनथ्यो, लैजाँदालैजाँदै बाटोमै सुत्केरी हुने अवस्था थियो,’ उनले भने, ‘स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापनासँगै तालिमप्राप्त नर्सले यहीँ नै सेवा दिनुहुन्छ यसले गर्दा यहाँका स्थानीयवासीलाई सहज भएको छ।’

गत वर्षदेखि स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरी सेवा थप गरेसँगै घरमै सुत्केरी हुने वा अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको वडाध्यक्ष गुरुङ बताए। विकट र ग्रामीण भेग भएकाले स्वास्थ्यको पहुँचलाई ग्रामीण भेगसम्म विस्तार गर्नुपर्छ भन्ने लागेर माझकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको सेवा थप गरिएको वालिङ नगरपालिका स्वास्थ्य शाखाप्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले जानकारी दिए।

‘बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने पूर्वाधार, उपकरणहरुको व्यवस्था गरेका छौं,’ उनले भने, ‘अत्याधुनिक उपकरणहरुसहित स्वास्थ्यकर्मीलाई तालिम दिएका छौं, जसका कारण सेवा प्रभावकारी भएको छ भने स्थानीयवासीलाई सहज पनि भएको छ।’

माझकोट स्वास्थ्य चौकीमा सञ्चालनमा ल्याइएको बर्थिङ सेन्टरका लागि स्याङ्जा परिवार दक्षिणकोरिया किम्हे बुसान शाखाले स्वास्थ्य उपकरणहरु उपलब्ध गराएको शाखाका निवर्तमान अध्यक्ष जीवलाल काफ्लेले जानकारी दिए। ग्रामीण भेगमा सहज र संस्थागतरुपमा सुत्केरी गराउनका लागि आवश्यक उपकरणहरु शाखाले स्वास्थ्यचौकीलाई उपलब्ध गराएको थियो।

प्रकाशित मिति: १३:२० बजे, शुक्रबार, माघ १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्