Kathmandu Press

कांग्रेसद्धारा सुनुवाई समिति बैठक बहिस्कार

काठमाडौं, माघ २० : कांग्रेसले संवैधानिक परिषदको बैठकमा प्रतिपक्षी दलको नेतालाई नबोलाई विभिन्न आयोगमा नियुक्तिको सिफारिस गर्नु गैरकानुनी भएको भन्दै संस....

कांग्रेसद्धारा सुनुवाई समिति बैठक बहिस्कार

काठमाडौं, माघ २० : कांग्रेसले संवैधानिक परिषदको बैठकमा प्रतिपक्षी दलको नेतालाई नबोलाई विभिन्न आयोगमा नियुक्तिको सिफारिस गर्नु गैरकानुनी भएको भन्दै संसदीय सनुवाई समितिको बैठक बहिस्कार गरेको छ । 

संविधानअनुसार संवैधानिक परिषदका सदस्य रहेका प्रतिपक्ष दलका नेतालाई वैधानिक रुपमा बैठकमा नबोलाई परिषदलाई प्रतिपक्षबिहीन बनाउन खोजेको भन्दै कांग्रेसले लिखित असहमति जनाएको हो ।

आईतबार कांग्रेसको तर्फबाट संसदीय सुनुवाई समितिका सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, जितेन्द्र नारायण देव, भीमसेन दास प्रधान र पुष्पा भुषालले लिखित रुपमा असहमति दर्ता गर्दै बैठक बहिस्कार गरेका छन् ।

प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदमा प्रतिपक्ष दलका नेता पदेन सदस्य हुन्छन् । तर परिषदको पछिल्लो बैठकमा प्रतिपक्ष दलका नेतालाई निमन्त्रणा नगरि विभिन्न संवैधानिक आयोगहरुका पदाधिकारी सिफारिस गरिएको थियो । कांग्रेसले प्रतिपक्ष दलका नेतालाई नबोलाई भएको उक्त परिषदको बैठक र निर्णय दुवै गैरसंवैधानिक भएको भन्दै खारेजीको माग गर्दै आएको छ ।

‘संविधानको धारा २८४(४) र २९२(१) सवैधानिक र कानूनी व्यवस्थाको प्रतिकुल हुनेगरी संसदीय व्यवस्थाको प्रतिकूल हुनेगरी विपक्षी दलको नेतालाई विधिवत रुपमा कुनै सूचना नदिई, प्रतिपक्षको भूमिकालाई शून्य गराई एकलौटी रुपमा संविधान, ऐन, कानुन र प्रक्रिया ठाडै उल्लंधन हुने गरी संवैधानिक, राजनीतिक र नैतिक मूल्य मान्यता विपरित संवैधानिक परिषदले विभिन्न आयोगका अध्यक्षहरु सिफारिस गर्ने गरी भएको सिफारिस गैरकानुनी भएकाले उक्त संवैधानिक परिषदको सिफारिसप्रति हाम्रो असहमति छ’ कांग्रेसका तर्फबाट सुनुवाई समितिमा रहेका चारैजना सदस्यले असहमति पत्रमा लेखका छन् ।

कांग्रेसले परिषदको बैठकमा सर्वसम्मत निर्णय हुन नसकेको अवस्थामा बहुमतबाट निर्णय गर्न सक्ने अधिकार हुँदाहुँदै प्रतिपक्ष दलका नेतालाईनै बैठकमा नबोलाउनु असंवैधानिक र सरकारको निरंकूशतावादी सोचको उपज भएको पनि ठहर गरेको छ ।

प्रकाशित मिति: १३:३६ बजे, आइतबार, माघ २०, २०७५