दुई सय किसानलाई गाई बाँड्ने अभियान सुरु
चितवन, माघ १३ : पूर्वी चितवनको रत्ननगर नगरपालिकाले २०० कृषकलाई अनुदानमा गाई बाँड्ने कार्यक्रम आजदेखि सुरु गरेको छ। पहिलो दिन १६ जना किसानलाई...
चितवन, माघ १३ : पूर्वी चितवनको रत्ननगर नगरपालिकाले २०० कृषकलाई अनुदानमा गाई बाँड्ने कार्यक्रम आजदेखि सुरु गरेको छ। पहिलो दिन १६ जना किसानलाई एक/एक वटाका दरले अनुदानमा गाई वितरण गरिएको हो। पशुपालनमार्फत गरिबी न्यूनीकरण गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको हो। गाई वितरणका लागि नगरपालिकाको नवौँ नगरसभाले एक करोड रूपैयाँ विनियोजन गरेको थियो। नगरपालिकाको एक करोड रूपैयाँ र किसानको एक करोड रूपैयाँ गरी दुई करोडको लगानीमा २०० वटा दुधालु गाई वितरण गर्ने योजना रहेको छ।
नगरपालिकाले गाईसँगै गोठ सुधारका लागि १० हजार प्रदान गरेको छ। नगरपालिकाले प्रदान गरेको रु १० हजारमा किसानले रु १० हजार थप गरी रु २० हजारमा गोठ मर्मतको काम गर्नुपर्छ। किसानले कम्तीमा रु ८० हजार मूल्य बराबरको गाई खरिद गर्नुपर्ने हुन्छ। बिहान बेलुका गरी कम्तीमा १० लिटर दूध दिने र गाई पूर्णरूपमा स्वस्थ्य हुनुपर्ने पशु विकास अधिकृत शालिग्राम पौडेलले बताए।
नगरपालिकाले किसानको आर्थिक अवस्था मूल्याङ्कन गरी पशुपालनबाटै जीविका चलाउँछु भन्ने विश्वास भएका किसानलाई मात्र गाई वितरण गर्ने उनले जानकारी दिए। नगरपालिका प्रमुख नारायण वन र उपप्रमुख विमला दुवाडीले नगरपालिका परिसरमा किसानलाई गाई हस्तान्तरण गर्नुभएको हो। अनुदानमा गाई पाएपछि किसान उत्साहित भएका छन्।
नगर प्रमुख वनले सुत्केरी पशुलाई भत्तापछि किसानलाई उद्यमी बनाउन गाई वितरण गरिएको बताए। विदेशबाट फर्किएर स्वदेशमै केही गर्न इच्छुक युवा र आर्थिक अभावका कारण पशुपालन गर्न नसकेका गरिब किसानको पहिचान गरी गाई वितरण गरिएको उनको भनाइ थियो। उपप्रमुख दुवाडीले नगरको गौरवको योजनाअन्तर्गत किसानलाई गाई वितरण सुरु गरिएको बताए।











-1782735246.jpeg)