राष्ट्रिय टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध अख्तियारको मुद्दा
खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए) को झुटो प्रमाण पेश गरेर १ कात्तिक २०५५ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको अख्तियारको दाबी छ ।
काठमाडौं, माघ १२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्र बनाएर प्रहरीमा जागिर खाएको आरोपमा अख्तियारले विशेष अदालतमा खड्काविरुद्ध मुद्दा दायर गरेको हो।
खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए) को झुटो प्रमाण पेश गरेर १ कात्तिक २०५५ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको अख्तियारको दाबी छ ।
अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिका अनुसार खड्काले प्रहरीमा पेस गरेको आईएको प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी परेको थियो । खड्काले प्रहरीबाट राजीनामा दिइसकेका छन् ।
खड्का गत वर्ष राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्य नियुक्त भएका थिए । उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्व प्रशिक्षकसमेत हुन् । नेपालमा २०७६ सालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद साग पछि उनले प्रशिक्षकबाट राजीनामा दिएका थिए ।
उनी १४ पुस २०५९ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए । खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए । त्यसपश्चात ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका थिए।
अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा १६ को १ अनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र दशदेखि २० हजारसम्म जरिवाना सजाय माग गरेको छ ।











