भैरहवामा होल्डिङ सेन्टर बन्दै
बुटवल, माघ १२ : रुपन्देहीको भैरहवा क्षेत्रमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण र उपचारका लागि होल्डिङ सेन्टर निर्माण हुने भएको छ। सेन्टर निर्माणका लागि सिद्धार्थनगर...
बुटवल, माघ १२ : रुपन्देहीको भैरहवा क्षेत्रमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण र उपचारका लागि होल्डिङ सेन्टर निर्माण हुने भएको छ।
सेन्टर निर्माणका लागि सिद्धार्थनगर नगरपालिका–२ स्थित करिब दुई बिघा जग्गा सिफारिस गरेर रक्षा मन्त्रालय र नेपाली सेनालाई पत्राचार गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।
‘हामीले जग्गा सिफारिस गरेर पत्राचार गरिसकेका छौँ, अब होल्डिङ सेन्टरको विषय टुङ्गो लागिसकेको छ,’ उनले भने। प्रजिअ तिवारीले अब केही दिनबाटै होल्डिङ सेन्टर निर्माणको काम सुरु हुने उल्लेख गर्दै कामका लागि समन्वय भइरहेको बताए।
सो सेन्टर एक हजार जना अट्ने क्षमताको हुने छ । होल्डिङ सेन्टर निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । लुम्बिनी प्रदेशमा सङ्घीय सरकार र नेपाली सेनाले रुपन्देही, कपिलवस्तु र बाँकेमा गरी तीन स्थानमा होल्डिङ सेन्टर निर्माणको काम गर्ने निर्णय भएको थियो ।
बाँके र कपिलवस्तुमा होल्डिङ सेन्टर निर्माणको काम भइरहेको पनि रुपन्देहीमा जग्गा व्यवस्थापन नहुँदा होल्डिङ सेन्टरले गति लिनसकेको थिएन । होल्डिङ सेन्टरको काम कपिलवस्तुमा ८२ प्रतिशत भौतिक र ५५ प्रतिशत आर्थिक प्रगति भएको नेपाली सेनाले जानकारी दिएको छ। बाँकेको जमुनाहानाकामा एक हजार क्षमताको सेन्टर बनेको र अहिले ३०० जना राख्न सकिने बताइएको छ।
भारतबाट स्थलमार्ग हुँदै तोकिएको नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिलाई प्रवेश नाकामा होल्डिङ सेन्टर निर्माण गरी कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले सो अवधारणा ल्याएको हो । लुम्बिनी प्रदेशमा करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ। नयाँ भेरियन्टपछि पाँच हजार ५२८ जना प्रदेशमा सङक्रमित भएको र पाँच हजार ३६ जना होमआइसोलेशन, ५० जना संस्थागत आइसोलेशन, ३३ जना आइसीयू र एक जना भेन्टिलेटरमा छन्।











-1782735246.jpeg)