सुर्खेतका दुई नाकामा ‘होल्डिङ सेन्टर’

कर्णाली, माघ ११ : कोभिड– १९ सङ्क्रमणको जोखिमलाई फैलिन नदिन सुर्खेतका दुई स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रले सुर्खेतको छिन्चु र जामु कुइनेमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।
यी दुई नाका सुर्खेत भित्रिने मुख्य नाका हुन् । होल्डिङ सेन्टरमा स्वास्थ्य सहायता कक्ष पनि सञ्चालन गरिएको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीयतहसँग समन्वय गरेर होल्डिङ सेन्टर स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए।
उनले सार्वजनिक सवारीसाधनका यात्रुका लागि खोप कार्ड अनिवार्य गर्ने, खोप नलगाएको भए खोप लगाउन व्यवस्था मिलाउन निर्देशन जारी गरिएको बताए। कोभिड– १९ को दोस्रो लहरका बेला बबईमा स्थापना गरिएको होल्डिङ सेन्टर छिन्चुमा सारिएको छ।
बबईमा पर्याप्त जग्गा र भवन नहुँदा छिञ्चु सारिएको हो । प्रमुख जिल्ला अधिकारी रिजालले प्रदेश भित्रिने सिमा नाकामा यातायातका साधनमा निगरानी बढाउनु साथै सम्बन्धित स्थानीयतह र प्रदेश सरकारको साझेदारीमा कोरोना परीक्षण थालिएको बताए।जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यसअघि सञ्चालित मास्क वितरण र खोप अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
वीरेन्द्रनगरका पर्यटकीयस्थल बन्द
यसैबीच, कोभिड– १९ को ओमिक्रोन भाइरसको सङ्क्रमण बढ्न थालेपछि वीरेन्द्रनगरका पर्यटकीयस्थल बन्द गरिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले अनिश्चित कालका लागि वीरेन्द्रनगरका मुख्य पर्यकीयस्थल बन्द गरेको हो । नगर विकास समितिले अर्को सूचना जारी नहुँदासम्म बुलबुले उद्यान, काँक्रेविहार र शहीद पार्क बन्द गरेको जनाएको छ ।
समितिका सदस्य सचिव एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटा पर्यटकीयस्थलमा सार्वजनिक बिदाको दिनमा बाक्लो भीड हुने हुँदा सङ्क्रमण फैलिन नदिन प्रवेशमा रोक लगाइएको बताए।
साथै मुख्य शक्तिपीठ देउतीबज्यै मन्दिरमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाई गरी पूजापाठ गर्ने व्यवस्था मिलाइएको छ । पछिल्लो तथ्याङ्क अनुसार सुर्खेतमा कोरोनाका ६०० सक्रिय सङ्क्रमित छन् । तीमध्ये ८० प्रतिशत भन्दा बढी सङ्क्रमित वीरेन्द्रनगर नगरपालिकाका रहेको जनाइएको छ।











-1782735246.jpeg)