Kathmandu Press

धुपीको बिरुवा रोपेर वडाध्यक्षले भने– ‘यसलाई पानी हाल्न दिनहुँ आफैँ आउनेछु’

पार्कमा वृक्षारोपणको उद्घाटन हुँदै थियो । कामदारको तयारी सकिँदा नसकिँदै उद्घाटनका लागि वडाध्यक्ष ईश्वरमान डंगोल आइपुगे । उनको उपस्थितिसँगै अन्य सात–आठजना हातमा एउटा–एउटा धुपीको बिरुवा लिएर तयार भए ।
धुपीको बिरुवा रोपेर वडाध्यक्षले भने– ‘यसलाई पानी हाल्न दिनहुँ आफैँ आउनेछु’

काठमाडौं, माघ ११ : केही कामदार माटो सम्याउँदै थिए, कोही इँटा ओछ्याउँदै त कोही बिरुवा रोप्नका लागि साना–साना खाडल खन्दै थिए । काठमाडौं महानगरपालिका– १५, जनमार्ग–२ चमती खोलाछेउ २८ पुसमा देखिएको दृश्य हो, जहाँ महानगर र स्थानीय बासिन्दाको सहयोगमा ‘जनमार्ग ध्यान पार्क’ बन्दै छ । 

त्यस दिन यस पार्कमा वृक्षारोपणको उद्घाटन हुँदै थियो । कामदारको तयारी सकिँदा नसकिँदै उद्घाटनका लागि वडाध्यक्ष ईश्वरमान डंगोल आइपुगे । उनको उपस्थितिसँगै अन्य सात–आठजना हातमा एउटा–एउटा धुपीको बिरुवा लिएर तयार भए । वडाध्यक्ष डंगोलले एउटा धुपीको बिरुवा रोपे र त्यसलाई पानी हाल्दै भने, ‘यसलाई पानी हाल्न दिनहुँ म आफैँ आउँछु ।’ 

Hardik ivf

उनीसँगै अरु उपस्थितले पनि एक–एकवटा धुपीको बिरुवा रोपेर पानी हाले । वडाध्यक्ष डंगोलले आफूले रोपेको धुपी कति नम्बरमा प¥यो भनेर पनि ख्याल गरे । 

वडाध्यक्षका अनुसार, यहाँको २६ आना एक पैसा क्षेत्रफलमा ५५ लाख रुपैयाँ लागतमा पार्क निर्माण भइरहेको छ । यसका लागि आवश्यक बजेटको ८५ प्रतिशत (४६,९४,०५७ रुपैयाँ) काठमाडौं महानगरले उपलब्ध गराएको छ भने १५ प्रतिशत बजेट (८२८,३६४ रुपैयाँ) स्थानीयको सहयोगबाट संकलन गरिएको हो । ‘क्षेत्रफल सानो भए पनि प्रभावकारी पार्क बन्नेछ,’ वडाध्यक्ष डंगोल भन्छन्, ‘भूकम्पपछि सार्वजनिक ठाउँ संरक्षणमा स्थानीयको चासो देखाएका छन् ।’

भनिन्छ, विपतले मानिसलाई सजग र सचेत बनाउँछ । ०७२ को भूकम्पका बेला उपत्यकावासी निकै दिन घरबाहिर बस्नुप¥यो । तर जताजतै घरैघर र भौतिक संरचना भएकाले खुला ठाउँ नपाउँदा उपत्यकावासीलाई निक सकस भएको थियो । त्यतिबेला खुला ठाउँ अभावको महसुस गरेका थिए । 

यहाँका स्थानीय तथा जनमार्ग टोल सुधार समितिका अध्यक्ष जगदीश्वरलाल श्रेष्ठ भन्छन्, ‘त्यतिबेला खुला ठाउँ नभएर निकै सकस भएको थियो । हामीले महसुस ग¥यौँ, एउटा खुला ठाउँ त चाहिने रहेछ । त्यसैले हामीले यहाँ सुन्दर पार्क बनाउन लागेका हौँ । स्थानीय बासिन्दा सहयोगका लागि अग्रसर हुनुभयो ।’ 

उनका अनुसार, अहिले पार्क बनाउन लागिएको सार्वजनिक जग्गा खेतीयोग्य भएकाले पहिले केही व्यक्तिले तरकारी लगाएका थिए । यही सार्वजनिक जग्गाको संरक्षणसँगै उपयोग गर्ने सल्लाह भएपछि २३ असार २०७८ पार्क निर्माण कार्य सुरु गरिएको हो । ‘पार्क निर्माणको काम लगभग ८० प्रतिशत सम्पन्न भइसकेको छ,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘तोकिएको समयमै सम्पन्न गर्न हामी लागिपरेका छौँ ।’

पुराना कला–संस्कृति झल्काउने गरी पार्क निर्माण गरिँदै छ । पार्कको परिपरि पर्खाल, पर्खालभित्र एक चरणमा धुपी लगायत बिरुवा, त्यसपछि मान्छे हिँड्ने बाटो र ठीक बीचमा पानीको फोहोरा रहनेछ । ‘सिजन अनुसारका फूल पनि रोप्नेछौँ । डुल्न र बस्नका लागि यो पार्क उपयुक्त छँदैछ, त्यसमाथि यहाँको मुख्य विशेषता हुनेछ— एउटा ध्यान कक्ष,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘त्यसैले यसको नाम जनमार्ग ध्यान पार्क राखेका हौँ ।’ 
 

प्रकाशित मिति: १०:५८ बजे, मंगलबार, माघ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्