Kathmandu Press

सचिव भएर काम गरिसकेँ, स्वभाविक रुपमा महासचिवमा दाबी रहन्छ : वर्षमान पुन

उनले सहमतिको आधारमा पार्टीको पदाधिकारी चयन हुने विश्वास व्यक्त गरेका छन् । सहमति नभई निर्वाचनमा गएको खण्डमा आफूले पनि दाबी गर्ने उनको भनाई छ ।
सचिव भएर काम गरिसकेँ, स्वभाविक रुपमा महासचिवमा दाबी रहन्छ : वर्षमान पुन

काठमाडौं, माघ १० : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले पार्टीको महासचिव पदका लागि आफूले स्वभाविक रुपमा दाबी गर्ने बताएका छन्।

चीनमा उपचार गरि स्वदेश फर्केपछि विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेता पुनले आफू पार्टीमा सचिव भएर काम गरिसकेका कारण महासचिव पदका लागि स्वभाविक रुपमा दाबेदार रहेको बताएका हुन्।

उनले सहमतिको आधारमा पार्टीको पदाधिकारी चयन हुने विश्वास व्यक्त गरेका छन् । सहमति नभई निर्वाचनमा गएको खण्डमा आफूले पनि दाबी गर्ने उनको भनाई छ । पार्टीको अध्यक्ष पनि सहमतिमा नै चयन गरिएको कारण अन्य पदाधिकारी पनि सहमतिमै चयन हुने उनको धारणा छ।

'पार्टीको सचिव भएर काम गरेको छु, स्वभाविक रुपमा महासचिवका लागि दाबी गर्छु,' पत्रकारहरुसँग नेता अनन्तले भनेका छन्।

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको मात्र चयन गरिएको छ,। पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र बाँकी रहेका केन्द्रीय कमिटीको टुंगो लगाउनका लागि माओवादी केन्द्रले आगामी माघ २७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

बैठकले बाँकी रहेको कमिटीलाई पूर्णता दिने भनिएको छ।

यसअघि माओवादी केन्द्रले नेता वर्षमान पुन अनन्त स्वदेश फर्किएपछि पदाधिकारी र अन्य कमिटीको टुंगो लगाउने भनेको थियो । वर्षमान पुनसँगै जनार्दन शर्माले पनि महासचिवमा दाबी गरेपछि पदाधिकारीको टुंगो लाग्न सकेको थिएन।

सहमतिका आधारमा पदाधिकारी चयन हुने अवस्था नदेखिएपछि अध्यक्ष दाहालले देव गुरूङलाई महासचिवमा अघि सारेका छन् । निर्वाचन भएको अवस्थामा पुन, शर्मा र गुरुङबीच प्रतिस्पर्धा हुने देखिएको छ।

प्रकाशित मिति: २२:५२ बजे, सोमबार, माघ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्