काभ्रेका तीन नगरमा खानेपानी वितरणको तयारी
काभ्रेपलाञ्चोक, माघ १० : एघार वर्षअघि सुरु गरिएको काभ्रेपलाञ्चोक उपत्यका एकीकृत खानेपानी आयोजनाको काम करिब ९८ प्रतिशत सकिएको छ।केही महिनामै खानेपानीको समस्याबाट गुज्रिएका जिल्लाको...
काभ्रेपलाञ्चोक, माघ १० : एघार वर्षअघि सुरु गरिएको काभ्रेपलाञ्चोक उपत्यका एकीकृत खानेपानी आयोजनाको काम करिब ९८ प्रतिशत सकिएको छ।
केही महिनामै खानेपानीको समस्याबाट गुज्रिएका जिल्लाको तीन नगर धुलिखेल, बनेपा र पनौतीका बासिन्दाले अब केही महिनामै २४ सै घण्टा स्वच्छ खानेपानी पाउने भएका हुन्।
तीन नगरका करिब ९३ हजार बासिन्दालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले ११ वर्षअघि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच ऋण सम्झौता गरी आयोजनाको प्रक्रिया सुरु गरिएको थियो।
सन् २०१० अक्टोबर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब रु. एक अर्बमा सम्पन्न हुने जनाइएको छ। आयोजनाको रिजर्भवायर ट्यांकी निर्माण र पाइप ओछ्याउनेलगायत भौतिक पूर्वाधारको सम्पूर्ण काम सम्पन्न भएको आयोजनाका सामुदायिक विकास अधिकृत कृष्णप्रसाद कायस्थले जानकारी दिए।
कायस्थका अनुसार भौतिक पूर्वाधार निर्माणको काम सकिएपछि परीक्षण स्वरुप हाल पनौतीको शारदा देवीस्थानमा पानी पुर्याइएको छ भने पानी वितरणका लागि व्यवस्थित गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम भइरहेको छ।
उनले भने, ‘मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँचको काम बाँकी छ, धमाधम घरमा धारा जडानको प्रक्रिया थालिएको छ।’ उनका अनुसार आयोजनाअन्तर्गत अन्तिम चरणमा तीनै नगरमा हाल सञ्चालित खानेपानी आयोजना तथा उपभोक्ता समितिमार्फत वितरण भएको पानीको पाइपमा नयाँ खानेपानीको पाइप जडान गर्ने (इन्टर कनेक्सन) को काम भइरहेको छ।
तीन नगर र सडक विभागले सडक विस्तारका क्रममा कतिपय स्थानमा खानेपानीको पाइप फुटेकाले पछिल्ला केही महिना खानेपानी अयोजनाको काममा ढिलाइ भएको बताइएको छ। आयोजनाअनुसार क्षति पु¥याएका नगर र विभागले नै बनाइदिएका छन्।
तीन नगरका १ हजार ११४ इन्टर कनेक्सन गर्नुपर्नेमा हाल ७ सयको हाराहारीमा इन्टर कनेक्सन भइसेकेको आयोजनाले जनाएको छ। उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन फिल्टर मिडिया जडानसमेत गरिएको छ।
चिनियाँ ठेकेदार कम्पनी निम्वो निङसिङ इन्टरनेसनल इंकले केही महिनाभित्र काम सकाउने जनाएको छ। आयोजना सम्पन्न भएपछि सन् २०२४ सालसम्मको लागि तीन नपाका करिब ९३ हजारको लागि ‘नेपाल स्टायन्डर्ड’ को पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाउनेछन्।
‘अबको केही महिनामा तीन नगरका जनताले स्वच्छ पिउने खानेपानी पाउँदैछन्, यो निकै सुखद विषय हो,’ धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले भने। उनका अनुसार विविध कारणले आयोजनाको काम केही वर्ष धकेलिएको हो। सम्पूर्ण परीक्षण सकेमा चैत मसान्तसम्ममा खानेपानी वितरण हुनसक्ने उहाँले बताउनुभयो ।
यस आयोजनालाई तत्कालीन अवस्थामा एडीबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाको रुपमा हेरिएको थियो। आयोजनाको कूल लागत भ्याट बाहेक रु ९९ करोड आठ लाख सात हजार ८२१ रहेको छ।
आयोजनाको कूल लागतको ५० प्रतिशत रकम नेपाल सरकार र एशियाली विकास बैंकवाट अनुदान, ३५ प्रतिशत रकम नगर विकास कोषवाट ऋण विसं २०६९ असारमा लिइएको छ। बाँकी १५ प्रतिशत रकम भने तीनवटै नगर र स्थानीय उपभोक्ताबाट ब्यहोरिने जनाइएको छ।
वार्षिक ५ प्रतिशत ब्याज तोकिएको उक्त ऋणको साँवा र ब्याज तीनवटै नगरबाट २० वर्षभित्र चुक्ता गरी सक्नुपर्ने सम्झौतामा उल्लेख छ।











-1782735246.jpeg)