Kathmandu Press

अनलाइन राइड भएको बेला कुनै चालक लुटिएको रेकर्ड छैन : पठाओ 

काठमाडौं, पुस १० : राइड सेयरिङ सेवा दिँदै आएको पठाओ नेपाल प्रालिले कोटेश्वरदेखि धापाखेलसम्म जाने क्रममा शनिबार राति पठाओ चालक अपहरित भएको भन्ने खबर...
अनलाइन राइड भएको बेला कुनै चालक लुटिएको रेकर्ड छैन : पठाओ 

काठमाडौं, पुस १० : राइड सेयरिङ सेवा दिँदै आएको पठाओ नेपाल प्रालिले कोटेश्वरदेखि धापाखेलसम्म जाने क्रममा शनिबार राति पठाओ चालक अपहरित भएको भन्ने खबर सञ्चारमाध्यममा आए पनि सो समयको कुनै रेकर्ड एपमा नभएको बताएको छ।

पठाओकी मार्केटिङ हेड एवं प्रवक्ता सुरक्षा हमालले आज (सोमबार) एक विज्ञप्ति जारी गरेर समाचारमा बताइएको घटना भएको समयमा लिइएको राइड पठाओको अनलाइन राइड नभएको स्पष्ट पारेकी हुन्।

‘कोटेश्वरबाट शनिबार राति एकजना पठाओ राइडर अपहरित भएको भन्ने खबर केही मिडियामा प्रकाशित भएको छ। समाचारमा बताइएअनुसार शनिबार राति कोटेश्वरबाट चढेका एक युवाले राइडरलाई धापाखेल पुर्‍याई अपहरण लुटपाट गरेका हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘समाचारमा बताइएको घटना भएको समयमा लिइएको राइड पठाओको अनलाइन राइड नभएको देखिन्छ। यस्तो राइड सुरक्षित र सुनिश्चित दुवै नहुने भएकाले अफलाइन राइड लिने र दिने काम नगर्न हामीले बारम्बार सेवाग्राही र राइडर दुबैलाई सुझाउँदै आएका छौंं।’ 

Hardik ivf

विज्ञप्तमा उल्लेख भएअनुसार पठाओ अनलाइन राइड सेयरिङ प्लाटफर्म हो। पठाओको सेवा लिन र दिन मोबाइल एपमार्फत बुकिङ गर्नु आवश्यक हुन्छ। यसरी सेवा प्रदान गर्दा यात्रा गरिरहेको सवारीको विवरण, सेवाग्राही र राइडर दुवैको व्यक्तिगत जानकारी तथा यात्रा गरिरहेको स्थानको विवरण पठाओको एपमा उपलब्ध हुन्छ।

‘पठाओ मोबाइल एपको विवरणअनुसार अपहरण र लुटपाटमा पर्ने व्यक्ति प्रवीण राईले सो घटना हुनुअगाडि सो दिनमा सामाखुसीदेखि कोटेश्वरसम्म अन्तिम राइड लिएको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘रातको ११ बजेर १८ मिनेट जाँदा सामाखुसीबाट लिएको राइड ११ बजेर ३३ मिनेट जाँदा कोटेश्वरमा टुंगिएको छ। कोटेश्वरदेखि घटनास्थल धापाखेल पुगेको कुनै पनि विवरण पठाओ एपमा उपलब्ध छैन।’ 

पठाओको सेवा लिँदै वा दिँदै गर्दा घटना भएको नदेखिएको प्रवक्ता हमालको भनाइ छ। बाटोमा भेटेका व्यक्तिलाई बार्गेनिङ गरेर राइड लिएको देखिएको र त्यसो गर्नु सरासर गलत भएको उनको भनाइ छ। 

सडकमा बसेर यात्रुलाई बार्गेनिङ गरी राइड लिने प्रवृत्तिदेखि सावधान हुनु आवश्यक  रहेको पनि पठाओले स्पष्ट पारेको छ। ‘मोबाइल एपमार्फत राइड रिक्वेस्ट नगरी वा रिक्वेस्ट गरेको राइड क्यान्सिल गरी अफलाइन राइड लिँदा सेवाग्राही र राइडर दुवैको व्यक्तिगत विवरण र राइड तथा सवारीको विवरण रेकर्डमा नहुने हुँदा सुरक्षा संवेदनशिलता बढ्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘जसले गर्दा यो घटनामा जस्तै आपराधिक मानसिकता भएका मानिसले गलत फाइदा उठाउन सक्छन्।’ 

अनलाइन राइडको समयमा कसैले गलत गरिहाले व्यक्तिक्तिगत, राइड र सवारीको जानकारी मोबाइल एप तथा पठाओको आइटी सिस्टममा हुने भएकाले सप्रमाण प्रहरीमा उजुरी दिन सकिने र सो जानकारीका आधारमा पिडकलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई समेत सहज हुने पठाओले बताएको छ। 

‘नेपालको पहिलो राइड सेयरिङ बिमा पनि पठाओले सुरु गरेको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘पठाओ एपमार्फत सहजीकरण गरी उपलब्ध सेवाहरु प्रयोग गर्ने सेवाग्राही तथा राइडरहरुको एक लाखसम्मको दुर्घटना उपचार बिमा र सवारी दुर्घटनाका कारण मृत्यु वा अपांगता हुन पुगेको खण्डमा १० लाखसम्म बिमा दाबी गर्न सकिन्छ। अफलाइन राइड लिँदा बिमा समेत सुबिधा पाईँदैन।’ 

सुरक्षित, सुनिश्चित राइडका लागि अनलाइन राइड मात्र लिन र दिन सेवाग्राही र राइडरहरूलाई पठाओले अनुरोध पनि गरेको छ।

प्रकाशित मिति: १३:४० बजे, सोमबार, माघ १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्