Kathmandu Press

क्यान्भास सजाउँदै मुलुकभर मनाइयो ‘विश्व जलरङ दिवस’

काठमाडाैं, माघ ९ : नेपाली ललितकला क्षेत्रका कलाकारले कोभिड–१९ को सङ्क्रमणका बीच स्वास्थ्य मापदण्डलाई पालना गरी विश्व जलरङ (वल्र्ड वाटरकलर) दिवस मुलुकभर कला...
क्यान्भास सजाउँदै मुलुकभर मनाइयो ‘विश्व जलरङ दिवस’

काठमाडाैं, माघ ९ : नेपाली ललितकला क्षेत्रका कलाकारले कोभिड–१९ को सङ्क्रमणका बीच स्वास्थ्य मापदण्डलाई पालना गरी विश्व जलरङ (वल्र्ड वाटरकलर) दिवस मुलुकभर कला सिर्जना गरी मनाएका छन्।

प्रदेशगत रूपमा पानी रङमार्फत विभिन्न विषयका दृश्यचित्र क्यान्भासमा उतारेर आज दिवस मनाइएको अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनवी गुरुङले जानकारी दिए। अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा देशका विभिन्न ठाउँका साथै प्रदेशमा एकैसाथ दिवस मनाइएको र कार्यक्रमको संयोजन समाजका प्रदेश प्रमुखले गरेका उनले बताए।

Hardik ivf

दिवस भर्चुअल र भौतिक रूपमा मनाइएको थियो। यसपालि उत्सवकै रूपमा दिवस मनाउने योजना भने नयाँ भेरियन्टसहित फैलिएको कोरोनाका कारण विफल बनाएपछि स्वास्थ्य मापदण्डको पालना गरी दिवस मनाउन सफल भएको समाजले जनाएको छ। दिवसका सन्दर्भमा चित्रकारले कला कार्यशालाको पनि आयोजना गरेका थिए। कार्यशालामा कलाकारहरुले विभिन्न विषयवस्तु र शैलीमा चित्र कोरेका थिए।

दिवसका अवसरमा आज पोखराका वरिष्ठ कलाकार हरेराम जोजुले अमूर्त शैलीका चित्र उतार्नुभएको थियो भने बुटवलका अग्रज कलाकार मन गोल्डीले स्थानीय गाउँले परिवेशलाई क्यानभासमा उतारे। पूर्वका युवा कलाकार लेख मगरले धरान वरपरका सुन्दर दृश्य र कलाकार डिबी राईले काठमाडौँको साँघुरो गल्लीलाई जलरङमार्फत क्यानभास सजाए।

उक्त कार्यक्रमलाई प्रदेश नं १ बाट महेन्द्र राई, मधेस प्रदेशबाट मुकेश महतो, बागमती प्रदेशबाट प्रकाश थापा, लुम्बिनी प्रदेशबाट सुमित्रा राना, गण्डकी प्रदेशबाट मनोज तामाङ र कर्णाली प्रदेशबाट उत्तम खड्काले  संयोजन गर्नुभएको थियो । समाजका वरिष्ठ उपाध्यक्ष डिराम पाल्पालीले मुलुकभरका कलाकारलाई चित्र सिर्जनामा समाजले एकीकृत गरेको उल्लेख गर्दै अझै निरन्तरता पाउनुपर्नेमा जोड दिए।

उक्त दिवस हरेक वर्ष जनवरी २३ तारिखमा विश्वका विभिन्न देशमा एकै साथ मनाउने गरिन्छ। कार्यक्रममा निर्माण भएका कलाकृति निकट भविष्यमा प्रदर्शनी गरिने आयोजकले जनाएको छ। यसअघि पनि समाजको संयोजनमा कलाकारहरूले विभिन्न कार्यक्रम गरेका थिए भने ठाउँठाउँमा पुगेर सामूहिक रूपमा कला कार्यशाला र प्रदर्शनी गरेका थिए।

प्रकाशित मिति: २०:४७ बजे, आइतबार, माघ ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्