Kathmandu Press

मनाङ ‘आहा! रारा गोल्ड कप’ को सेमिफाइनलमा

काठमाडौं, माघ ९ : मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा...
मनाङ ‘आहा! रारा गोल्ड कप’ को सेमिफाइनलमा

काठमाडौं, माघ ९ : मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित फुटबल रङ्गशालामा आज सम्पन्न दोस्रो क्वार्टरफाइनलको खेलमा मनाङले चिरपरिचित प्रतिस्पर्धी विभागीय नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै २० औँ संस्करणको प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भयो । मनाङले दुवै गोल दोस्रो हाफमा गर्न सफल भयो । मनाङ र पुलिस दुवै आहा राराका सफल क्लब हुन् । दुवैले समान छ/छ पटक उपाधि जितेका छन् ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएकामा खेलको ६४औँ मिनेटमा मनाङले रुपेश केसीको गोलमार्फत खेलमा अग्रता बनायो । पुलिसका रक्षापङ्क्तिका खेलाडी अजित भण्डारीले डिबक्सभित्र फुत्काएको बल अफिज ओलावाले नियन्त्रणमा लिँदै उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै केसीले गोल गरे ।

खेलको नियमित समय सकिन तीन मिनेट बाँकी रहँदा मनाङले ८७ औँ मिनेटमा अग्रता दोब्बर बनायो । खेलको ‘म्यान अफ दी म्याच’ घोषित ओलावाले मैदानको मध्यभाग नजिकबाट एक्लै बल अघि बढाउँदै मनाङका दुई डिफेन्डर र गोल किपर सञ्जीत श्रेष्ठलाई छक्काएर गोल गर्न सफल भएका थिए । 

मनाङसँगको खेलमा पुलिसले गोलका अवसर सिर्जना गर्न सकेको थिएन । पुलिसले प्रिक्वार्टरफाइनलको खेलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकामा मनाङले सिधै क्वार्टरफाइनलमा खेलेको हो । खेलपछिको पत्रकार सम्मेलनमा मनाङका प्रशिक्षक फुजा टोपेले दोस्रो हाफमा राम्रो खेलेर जीत हासिल भएको बताए। खेलाडीको प्रदर्शनप्रति आफू सन्तुष्ट रहेको बताउँदै आगामी खेलमा अझ मिहिनेत गरेर खेल्ने उनले उल्लेख गरे ।

पुलिसका प्रशिक्षक अनन्त थापाले डिफेन्सको गल्तीका कारण खेलमा पराजय भोग्नुपरेको टिप्पणी गरे । विदेशी खेलाडी सहभागी बलियो टोली मनाङसँग पहिलो हाफमा राम्रो ‘फाइट’ गरे पनि दोस्रो हाफमा प्रदर्शन राम्रो नभएको उनले स्वीकार गरे । प्रतियोगिताअन्तर्गत सोमबार साबिक विजेता सङ्कटा फुटबल क्लब र शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानको मच्छिन्द्र फुटबल क्लबका बीचमा खेल हुने आयोजक सहारा क्लबले जनाएको छ । 

यही माघ ६ देखि सुरु भएर आगामी माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी, उत्कृष्ट पाँच विधाका खेलाडीहरूलाई जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् । 

प्रकाशित मिति: १९:३५ बजे, आइतबार, माघ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्