स्वास्थ्यकर्मीमा सङ्क्रमण बढेपछि अस्पतालका सेवा सञ्चालनमा मुस्किल

चितवन, माघ ९ : जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ। भरतपुर अस्पतालले जिओपिडि र नियमित शल्यक्रिया सेवा आजबाट बन्द गरेको छ।
शुक्रबारसम्म अस्पतालमा ११ चिकित्सकसहित ७७ स्वास्थ्यकर्मी सङक्रमित भइसकेका छन्। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार जिओपिडि हेर्ने चिकित्सकले कोभिड–१९ का बिरामी हेर्नुपर्ने भएकाले तत्कालका लागि सेवा बन्द गरिएको हो। अस्पतालले बहिरंग सेवामा चाप घटाउन बिहान ८ः३० बजेदेखि जिओपिडि सञ्चालन गरेको थियो।
छिटो अस्पताल आउने बिरामीका लागि लामो समय कुर्नुपर्ने बाध्यता समेत हटेको थियो। यस्तै पछि शल्यक्रिया गर्न मिल्ने बिरामीको शल्यक्रिया पनि तत्कालका लागि रोकिएको हो। यसबाट बिरामीलाई समस्या नपर्ने पौडेलको भनाइ छ। अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार परीक्षण नगरिएका धेरै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा पनि सङ्क्रमणको लक्षण देखिएको छ।
दैनिक यो सङ्ख्या बढ्दो छ। अन्य विभागमा जनशक्तिको समस्या भए पनि आलोपालो गरेर व्यवस्थापन गरिएको उनले बताए। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि ठूलो सङ्ख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोनाबाट प्रभावित भएका छन्।
अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार नौ चिकित्सक, ६६ स्टाफ नर्ससहित १३६ स्वास्थ्यकर्मी र कर्मचारी सङ्क्रमित भएका छन्।
अस्पतालमा धेरै चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा सेवा नरोकिएको भए पनि पहिले झै सञ्चालन गर्न नसकिएको उनले बताए।
स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुने दर बढ्दै गएको भन्दै खोप सेवा प्रभावित हुन सक्ने बताउँछन्। उनले भने, ‘सङ्क्रमित हुने क्रम बढ्यो, नियमित सेवासँगै खोप लगाउन काम गर्ने जनशक्ति अभाव हुन थालेको छ।’
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी यही ढङ्गले सङ्क्रमित बढ्दै गए सामान्य अवस्थाका सङ्क्रमित चिकित्सक स्वास्थ्यकर्मीले सङ्क्रमित बिरामीलाई उपचार गर्नुपर्ने अवस्था आउने बताउँछन्। उनले भने, ‘सबै सङ्क्रमित भए भने गर्न सक्नेले उपचार त गर्नै पर्यो नि।’
चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आधा सङ्क्रमित भइसकेको बताए। उनले भने, ‘सामान्य लक्षण भएर चिकित्सक स्वास्थ्यकर्मी काम गरिरहेका छन्। परीक्षण ग¥यो भने उनीहरुमा पनि संक्रमण देखिन सक्छ।’ यस्तै अवस्था रहेमा सङ्क्रमितले सङ्क्रमितको उपचार गर्नुको विकल्प नहुने उनको भनाइ छ।
छोटो समयमै निको भएकाले ठूलो जटिल अवस्था नआउनेमा आफूहरु ढुक्क रहेको न्यौपाने बताउँछन्। जिल्लामा सङ्क्रमितको सङ्ख्या २ हजार ७३६ पुगेको छ। उनीहरुमध्ये ४७ जनाको अस्पतालमा उपचार भइरहेको छ भने बाँकी घरकै आइसोलेसनमा छन्।











-1782735246.jpeg)