Kathmandu Press

सप्ताहव्यापी निःशुल्क मास्क वितरण अभियान सुरु

काठमाडौं, माघ ९ : महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ शुभारम्भ गरिएको छ।थानकोट...
सप्ताहव्यापी निःशुल्क मास्क वितरण अभियान सुरु

काठमाडौं, माघ ९ : महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ शुभारम्भ गरिएको छ।

थानकोट प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत कोरोना सङ्क्रमण न्यूनीकरणका लागि थानकोट जेसिजका सहकार्यमा शनिबारदेखि अभियान सुरु गरेको हो।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले पछिल्लो समय मुलुकमा बढ्दै गएको ओमिक्रोन भेरियन्टबाट आम नागरिकलाई जोगाउनका लागि उक्त अभियान सञ्चालन गरेको जानकारी दिए। उनले प्रहरीले आम नागरिकलाई सङ्क्रमणबाट जोगाउनका लागि यसअघिदेखि नै मास्क वितरण अभियानलाई निरन्तरता दिइरहेको बताए।

कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष योगीराज अधिकारीले सामाजिक दायित्वको भावले आम नागरिकलाई स्वास्थ्य बनाउनका लागि जेसिजले विभिन्न संस्थासँग सहकार्य गरेर अगाडि बढेको जानकारी दिए।

चन्द्रागिरि नगरपालिका–६ का वडाध्यक्ष सञ्जय सिक्देल, वडा नं ७ का वडाध्यक्ष शम्भुकुमार केसी, थानकोट जेसिज २०२२ का अध्यक्ष रोशन दानीलगायतले कोरोना महामारी नियन्त्रण, रोकथाम र जनचेनामूलक कार्यक्रमको पहिलो दायित्व स्थानीय सरकारको भएको बताए।

काठमाडौं बाहिरबाट आउने सवारी साधनका चालक, सहचालक र यात्रु तथा पैदलयात्रुलाई एक हजार मास्क वितरण गरिएको छ।  अभियान थानकोट, नागढुङ्गा, गुर्जुधारा, नैकाप, दहचोक, तीनथानालगायतका क्षेत्रमा सञ्चालन हुने थानकोट प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०७:१४ बजे, आइतबार, माघ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्