Kathmandu Press

वालिङमा कोभिड परीक्षण, भोजन तथा औषधि निःशुल्क

वालिङ, माघ ८ : वालिङ नगरपालिकाले कोभिड-१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क गरेको छ। नगरपालिकाले वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा कोभिड–१९...
वालिङमा कोभिड परीक्षण, भोजन तथा औषधि निःशुल्क

वालिङ, माघ ८ : वालिङ नगरपालिकाले कोभिड-१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क गरेको छ। 

नगरपालिकाले वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा कोभिड–१९ सङ्क्रमणका कारण भर्ना भएर बसेका बिरामीलाई खाना, नास्ता तथा औषधि निःशुल्क उपलब्ध गराएको नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताए।

‘विश्वभर महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण दर वालिङमा पनि उच्च छ,’ उनले भने, ‘अस्पतालकै क्यान्टिनबाट निःशुल्क खाना, नास्ता र अस्पतालबाट उपलब्ध हुने औषधिसहित उपचारलाई निःशुल्क गर्ने व्यवस्था मिलाएका छौं।’

Hardik ivf

कोभिड–१९ को सङ्क्रमण दर बढ्दै जाँदा नगरपालिकाले गह्रौं प्राथमिक अस्पतालमा ५० शय्यासहित अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य उपकरणहरु र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।

‘यहाँका नागरिकको स्वास्थ्यप्रति हामी सचेत छौं, पहिलो प्राथमिकता नागरिकको जीउ ज्यानको सुरक्षा हो,’ उनले भने,  ‘विकास बरु पछि गर्दै जाउँला पहिला नागरिकको स्वास्थ्यमा ध्यान दिने गरी अगाडि बढेका छौं।’

अस्पतालमा कोभिड–१९ को परीक्षण गर्न आउनुभएका व्यक्तिहरुलाई निःशुल्क एन्टिजिन परीक्षण गरिदिने गरिएको स्वास्थ्य शाखाप्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिए। अस्पतालमा भर्ना भएर बसेका संक्रमितहरूलाई निःशुल्क खाना, नास्ता तथा औषधि उपलब्ध गराइएको शाखाप्रमुख पाण्डेले बताए। 

‘५० शय्या क्षमतासहित सङ्क्रमितहरुको उपचारका लागि तयारी अवस्थामा छौं,’ प्रमुख पाण्डेले भने, ‘हाल सातजना सङ्क्रमितहरु अस्पतालमा भर्ना भएर नियमित उपचारमा हुनुहुन्छ।’

श्वासप्रश्वासमा समस्या देखिएका सङ्क्रमितहरुलाई अहिले भर्ना गरेर राखिएको छ भने अन्य सामान्य लक्षण देखिएका सङ्क्रमितहरुलाई घरमै छुट्टै आइसोलेसनमा बस्न भनिएको प्रमुख पाण्डेले बताए। घरमै आइसोलेसनमा बस्नुभएका सङ्क्रमितहरुलाई कुनै समस्या देखिए अस्पताल आउन आग्रह गरिएको अस्पतालका सूचना अधिकारी उदय पौडेलले जानकारी दिए।

अस्पतालमा भर्ना भई बस्नुभएका बिरामीहरुलाई बिहानको नास्ता, खाजा, दिउँसो नास्ता र साँझ खाना निःशुल्क उपलब्ध गराउँदै आएको सूचना अधिकारी पौडेलले बताए।

होम आइसोलेसनमा रहनुभएका बिरामीहरु स्वास्थ्यकर्मीको नियमित रूपमा सम्पर्कमा रहेका छन्। यसअघि पनि नगरपालिकाले अस्पतालमा भर्ना भई उपचाररत बिरामीहरुलाई अस्पतालबाट प्राप्त हुने निःशुल्क औषधि, खाना, नास्ता उपलब्ध गराइएको थियो।

गह्रौं प्राथमिक अस्पतालमा खोप लगाउने कार्य जारी रहेकाले खोप नलगाएका नागरिकहरुलाई अनिवार्य खोप लगाउन नगरपालिकाले माइकिङ गर्दै आइरहेको छ। कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको रोकथाम तथा नियन्त्रणका लागि सबैले स्वास्थ्यसम्बन्धी मापदण्डहरु पूर्णरुपमा पालना गर्न नगरपालिकाले सूचना तथा माइकिङमार्फत अनुरोध गरेको छ।

प्रकाशित मिति: १३:५० बजे, शनिबार, माघ ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्