Kathmandu Press

पर्यटन बोर्डको बजेट डेढ अर्ब बढी, भ्रमण वर्षलाई प्राथमिकता

काठमाडाैं, भदाै २४ :  नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७६/०७७ का लागि एक अर्ब ६३ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। 

नेपाल....

पर्यटन बोर्डको बजेट डेढ अर्ब बढी, भ्रमण वर्षलाई प्राथमिकता
फाइल

काठमाडाैं, भदाै २४ :  नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७६/०७७ का लागि एक अर्ब ६३ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। 

नेपाल भ्रमण वर्ष २०२० अभियानलाई प्राथमिकतामा राखेर बोर्डले बजेट ल्याएको छ। बोर्ड सञ्चालक समितिको सोमबारको बैठकले यस वर्षका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको हो। अघिल्लो वर्षको भन्दा १२ करोड कम बजेट आएको छ। बोर्डले आर्थिक वर्ष २०७५/०७६ मा एक अर्ब ७५ करोड रूपैयाँ बजेट छुट्याएको थियो।    

भ्रमण वर्षसँगै तालिम, ‘डिजिटल मार्केटिङ’ तथा नयाँ गन्तव्यको प्रभावकारी प्रवद्र्धन गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले जानकारी दिए।

बोर्डले प्रदेश सरकारसँगको साझेदारीलाई ध्यान दिएर बजेट निर्धारण गरेको छ। एक प्रदेशमा एक करोड रूपैयाँका दरले सातै प्रदेशमा बजेट विनियोजन गरिएको सिइओ जोशीको भनाइ छ। उनका अनुसार बजेटमा पर्यटनको बजारीकरण, नयाँ अन्तर्राष्ट्रिय गन्तव्यको विस्तारमा मध्यपूर्वी मुलुकमा विगतको एक कार्यक्रमलाई बढाएर चार वटा पुर्‍याइएको छ।

दक्षिणपूर्वी एशियाली मुलुक म्यान्मा, भियतनाम, कम्बोडियालगायत गन्तव्यमा बजारीकरण गर्ने लक्षका साथ बजेट विनियोजन गरिएको छ। बोर्डका जति पनि प्रवद्र्धनका कार्यक्रम रहेका छन् तिनलाई भ्रमण वर्षसँग जोडेर कार्यक्रम गरिनेछ। भ्रमण वर्षका लागि छुट्टै १० करोड विनियोजन गरिएको छ। यो भ्रमण वर्ष सचिवालयले खर्च गर्नेछ। बोर्डकै तर्फबाट भ्रमण वर्ष प्रवर्द्धनका लागि २५ करोड रूपैयाँ विनियोजन गरिएको छ।

भैरहवा विमानस्थल लक्षित प्रवर्द्धन 

बोर्डले बुद्ध धर्मावालम्बी पर्यटकलाई नेपाल आकर्षण गर्ने उद्देश्यका साथ म्यान्मा, भियतनाम, कम्बोडियालगायत गन्तव्यमा प्रभावकारी बाजरीकरण गर्ने भएको छ।

छिट्टै सञ्चालनमा आउने निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर बोर्डले बुद्ध धर्मावलम्बीहरूको मुलुकबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्नेगरी बजेट विनियोजन गरेको हो। ती मुलुकसँग भैरहवा विमानस्थल सञ्चालनसँगै सम्पर्क सञ्जाल विस्तार हुने अपेक्षाका साथ बोर्डले बजेट केन्द्रित गरेको उल्लेख गरेको छ। गौतमबुद्ध विमानस्थल सन् २०२० को शुरुवातमै सञ्चालनमा आउने बताइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एक वर्षे कार्ययोजनामा समेटेका भ्रमण वर्षलगायत कार्यक्रमलाई बजेटमा समावेश गरिएको छ। रासस

प्रकाशित मिति: १९:२५ बजे, मंगलबार, भदौ २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्