विवादित छविका केबी लिम्बूलाई महाप्रबन्धक बनाउने तयारी
काठमाडौं, माघ २० : विवादित छविका कुलबहादुर लिम्बूलाई नेपाल वायुसेवा निगममा ल्याउने तयारी गरिएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा लिम्बूल....
काठमाडौं, माघ २० : विवादित छविका कुलबहादुर लिम्बूलाई नेपाल वायुसेवा निगममा ल्याउने तयारी गरिएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा लिम्बूलाई महाप्रबन्धक बनाउने गरि निगममा भित्र्याउने खेल शुरु भएको हो ।
यसअघि उनी निगममा महाप्रबन्धक रहेका बेला सुगतरत्न कंसाकार कार्यकारी अध्यक्ष थिए । त्यसबेला कार्यकारी अध्यक्ष र महाप्रबन्धकको झगडाले चर्चा पाएको थियो । निगम स्रोतका अनुसार लिम्बूलाई केही समय वरिष्ठ क्याप्टेनको रुपमा नियुक्ती दिने र त्यसपछि महाप्रबन्धक बनाउने तयारी भएको छ ।
त्यतिबेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गबहादुर विश्वकर्माले कार्यकारी अध्यक्ष कंसाकार र महाप्रबन्धक लिम्बूको विवादले निगम धराशायी भएको भन्दै दुवैलाई हटाएका थिए । मन्त्री विश्वकर्माले हवाई सेवाभन्दा विल्कुलै फरक साहित्यकार क्षेत्रका मनरूप शाही ‘नेप्चुन’लाई कार्यकारी अध्यक्षमा नियुक्त गरेका थिए ।
केही समय अघिमात्रै मन्त्रिपरिषद्ले मदन खरेललाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ भने सुगतरत्न कंसाकार महाप्रबन्धकको रुपमा कार्यरत छन् ।
वाइडबडी जहाज खरिदमा विवाद भइरहेका बेला पुनः वरिष्ठ क्याप्टेनको रुपमा लिम्बूलाई भित्र्याउने तयारी गरिएको स्रोतले जनाएको छ । तत्काल क्याप्टेनकै रुपमा नियुक्त गर्ने र अगामी जेठमा अवकास पाउने कंसाकारको स्थानमा लिम्बूलाई ल्याउने तयारी रहेको बुझिएको छ ।
यसअघि लिम्बू र कंसाकारबीच विवाद हुँदा निगमको जहाज खरिद प्रक्रियासमेत प्रभावित बनेको थियो । तत्कालीन माओवादी नेतृ हिसिला यमी पर्यटनमन्त्री हुँदा लिम्बूलाई हटाएर कंसाकारलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेपछि निगममा शक्ति संघर्ष शुरु भएको थियो । बिनाकारण पदबाट हटाइएको भन्दै लिम्बूले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । सर्वोच्च अदालतकाे आदेशमा निगममा फर्किएका थिए ।
त्यतिबेला जहाज खरिद प्रक्रिया अपारदर्शी भएको जनाउँदै संसद्को सार्वजनिक लेखा समितिले रोक्न निर्देशन दिएको थियो । जहाज खरिदका क्रममा भ्रष्टाचार गरेको आरोप लागेका कंसाकारलाई पक्राउ समेत गरिएको थियो । बैना बाफत बुझाएको सात करोड ५० लाख रुपैयाँ निगमको खातामा फिर्ता आएपछि मात्रै विशेष अदालतले कंसकारलाई सफाइ दिएको थियो ।
पर्यटनमन्त्री यमीले हटाउँदा सर्वोच्चको आदेशमा पुनः निगममै फर्किका लम्बूलाई त्यसपछिका पर्यटनमन्त्री विश्वकर्माले राजीनामा दिन निर्देशन दिएका थिए । तर, उनले ‘सर्वोच्चको निर्णयलाई अपमान गर्दिनँ’ भन्दै राजीनामा दिएनन् । त्यसपछि मन्त्री विश्वकर्माले कार्यकारी अध्यक्ष कंसकार र महाप्रबन्धक लम्बूलाई मन्त्रिपरिषद्बाटै निर्णय गराएर हटाएका थिए ।
उनै लिम्बूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी निगममा ल्याउन लागेको हुन् ।






