स्वास्थ्य मापदण्ड पालना गरी कोरोना रोकथाममा सरकारलाई सघाउन प्रधानमन्त्री देउवाको अपिल
विश्व कोभिड–१९ महामारीको प्रथम, दोस्रो र तेस्रो लहरबाट आक्रान्त भएको र आफूहरू पनि संक्रमणको उच्च जोखिममा रहेकाले आर्थिक तथा सामाजिक क्षेत्रमा गम्भीर प्रभाव पर्न गएको उनले बताए।
काठमाडौं, माघ ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले नेपाललाई पनि आक्रान्त पारिरहेका बेला स्वास्थ्य सुरक्षाका मापदण्डको इमानदारीपूर्वक पालना गरी त्यसको रोकथाम, नियन्त्रण, निदान र उपचारमा सरकारलाई सहयोग गर्न अपिल गरेका छन्।
आज (शुक्रबार) राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, ‘सबै राजनीतिक दल र समुदाय तथा सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्डको इमानदारीपूर्वक पालना गरी यस रोगको रोकथाम, नियन्त्रण, निदान र उपचारमा सरकारलाई सहयोग गर्न हार्दिक अपिल गर्दछु।’
गत असार २९ गते आफ्नो नेतृत्वमा पाँच राजनीतिक दलको समर्थन र सहभागितामा गठन भएको सरकारले ६ महिना पूरा गरेको र संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमका आधारमा सरकारले कार्य सञ्चालन गर्दै आएको उनले बताए।
विश्व कोभिड–१९ महामारीको प्रथम, दोस्रो र तेस्रो लहरबाट आक्रान्त भएको र आफूहरू पनि संक्रमणको उच्च जोखिममा रहेकाले आर्थिक तथा सामाजिक क्षेत्रमा गम्भीर प्रभाव पर्न गएको उनले बताए।
उनले कोभिड–१९ का नयाँ स्वरुपको संक्रमणले उच्च जोखिमका कारण नागरिकको जीवन रक्षामाथि फेरि चुनौती थपिएकाले सबैले मिलेर आर्थिक तथा सामाजिक क्रियाकलापमा कम असर पर्ने गरी रोगको नियन्त्रण गर्नु अहिलेको आवश्यकता रहेको उनले बताए।
‘संकुचित रहेका आर्थिक तथा सामाजिक क्रियाकलापहरू मेरो नेतृत्वको सरकारले कार्यभार सम्हालेपछि सुचारु भएका थिए,’ उनले भने, ‘तर, केही दिनदेखि कोभिड–१९ को नयाँ स्वरुपको संक्रमणको उच्च जोखिमले नागरिकको जीवन रक्षामाथि पुनः चुनौती थपेको छ। हामी सबै मिलेर आर्थिक तथा सामाजिक क्रियाकलापमा कम असर पर्ने गरी यस रोगको नियन्त्रण गर्नु छ।’
उनले कोभिड-१९ को संक्रमण तीव्र रूपमा फैलिरहेकाले संयमित र धैर्यवान् रही जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै सुरक्षित जीवनयापनका लागि देशवासीलाई अनुरोध गरे। उनले कोभिड-१९ का कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना पनि व्यक्त गरे।
प्रधानमन्त्री देउवाले सक्रिय संक्रमितको शीघ्र स्वास्थ्य लाभको कामनाका साथै महामारीविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिनेहरूप्रति सम्मान व्यक्त गरे।
‘होम आइसोलेसनमा वस्नु भएका र अस्पतालमा उपचार गरिरहनुभएका बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भने, ‘यो शताब्दीकै डरलाग्दो माहामारीविरुद्धको लडाइँमा दुई वर्षदेखि निरन्तर खटिनुभएका चिकित्सक, नर्स, प्यारामेडिक्स, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र अन्य सबै अग्रपंक्तिमा काम गर्नेहरूप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु।’












