मध्यमर्स्याङ्दीमा विद्युत् उत्पादन घट्यो
लमजुङ, माघ ७ : जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको बिजुली उत्पादन घट्न थालेको छ । हिउ नपग्लिएका...
लमजुङ, माघ ७ : जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको बिजुली उत्पादन घट्न थालेको छ ।
हिउ नपग्लिएका कारण मस्र्याङ्दी नदीमा पानीको बहाव कम भएको छ । योसँगै विद्युत् उत्पादन कम हुँदै जान थालेको छ । हालसम्म ३० मेगावाट बिजुली उत्पादन घटेको आयोजनाका प्रमुख पवन बस्नेतले जानकारी दिए। उनले भने, ‘पुस लागेसँगै आयोजनाको विद्युत् घट्दै हाल ३८ देखि ४० मेगावाटसम्म बिजुली उत्पादन हुने गरेको छ । चैत अन्तिमसम्म उत्पादन घट्दै जान्छ, वैशाख लागेपछि मात्र उत्पादन बढ्ने देखिन्छ ।’
बेसीशहर नगरपालिका–१ दलालस्थित जिल्लाकै पहिलो तथा ठूलो ७० मेगावाट क्षमताको उक्त आयोजनामा विगतका वर्षमा विद्युत् उत्पादन घटेर २६ मेगावाटसम्म पुग्ने गरेको थियो । सन् २००० मा निर्माण सुरु भई सन् २००८ मा सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन गरिएको हो । कूल रु २७ अर्ब २० करोडको लागतमा आयोजना निर्माण भएको हो।
जिल्लाका अन्य जलविद्युत् आयोजनामा समेत पानीको बहाव कम हुँदा विद्युत् उत्पादन घट्न थालेको छ। पाँच मेगावाटको सिउरी, चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र दुई मेगावाटको छ्याङ्दीलगायत आयोजनामा बिजुली उत्पादन कम हुादै गएको छ।
मध्यमर्स्याङ्दी गाउँपालिका–६ र ७ स्थित ५० मेवागाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा भने गत असारमा गएको बाढी पहिराले बाँधस्थलमा क्षति पु¥याएपछि विद्युत् उत्पादन बन्द छ । आयोजनाका दुईवटै टर्वाइन फेर्ने, अन्य संरचना निर्माणलगायत कार्य जारी रहेको आयोजनाले जनाएको छ।












