Kathmandu Press

मधेश प्रदेशमा ५० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

जनकपुर, माघ ६ : मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण (दोस्रो मात्रा) खोप लगाएका छन् । पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका...
मधेश प्रदेशमा ५० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

जनकपुर, माघ ६ : मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण (दोस्रो मात्रा) खोप लगाएका छन् । पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

बढ्दै गएको कोरोना सङ्क्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचार–प्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय खोप लगाउने दर बढेको हो। गत पुस २५ सम्म दोस्रो मात्रा खोप लगाउने १८ वर्षमाथि उमेर समूहको सङ्ख्या ३८ प्रतिशतमात्र रहेकामा पछिल्लो दुई साताको अवधिमा त्यो सङ्ख्या बढेर करिब ५० प्रतिशत पुगेको निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए।

उनका अनुसार पूर्ण खोप लगाउनेको सङ्ख्या सर्लाहीमा ६३ दशमलव तीन, धनुषामा ५२ दशमलव छ, बारामा ५३ दशमलव छ, पर्सामा ५१ दशमलव एक, सप्तरीमा ४७ दशमलव सात, सिरहामा ४६ दशमलव आठ, रौतहटमा ३९ दशमलव छ  र महोत्तरीमा ३६ दशमलव छ प्रतिशत पुगेको छ । 

यस्तै १८ वर्षभन्दा माथि उमेर समूहका एक मात्रा मत्र खोप लगाउनेको सङ्ख्या भने करिब ५९ प्रतिशत छ । त्यसमध्ये सर्लाहीमा ७५, बारामा ७०, पर्सामा ६५, सिरहामा ६३, महोत्तरीमा ६९, धनुषामा ६४, सप्तरीमा ६१ र रौतहटमा ४५ प्रतिशत रहेको निर्देशक झाले बताए । 

उमेरका हिसाबले १८ वर्षभन्दा माथि उमेर समूहका भन्दा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा खोप लगाउनेको  सङ्ख्या बढी छ । निर्देशक झाका अनुसार मधेश प्रदेशमा १२ देखि १७ वर्ष उमेर समूहका करिब ६२ दशमलव दुई प्रतिशतले खोप लगाइसकेका छन् । ‘यो सङ्ख्या प्रदेशगत हिसाबले तेस्रो हो,’ उनले भने, ‘यसरी हेर्दा हामी बालबालिकालाई खोप लगाउनेमा तेस्रो प्रदेश भएका हौँ । यसलाई अझै गति दिन निरन्तर प्रयास भइरहेको छ।’

सरकारले २०७८ पुस मासन्तभित्र ६६ प्रतिशत नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकामा मधेश प्रदेशमा सो लक्ष्य पूरा हुन नसके  पनि विगतको भन्दा अहिले खोप लगाउनेको दरमा वृद्धि भएको जनाइएको छ। 
 

प्रकाशित मिति: १५:०४ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्