‘आउटफर्म’ ज्ञानेन्द्र विश्वकप छनोट खेल्ने टिममा किन ?
प्रधानमन्त्री कपमा चल्न नसकेका राष्ट्रिय टिमका नियमित सदस्य सोमपाल कामी, विनोद भण्डारी टिममा अटाउन असफल रहँदा प्रतियोगितामा पूर्णरुपमा असफल भएका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल भने टिममा परेका छन्।
काठमाडौं, माघ ६ : टि–२० विश्वपकको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएकाे छ। नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दासानायकेले प्रधानमन्त्री कप टि–२० क्रिकेट सकिएको भोलिपल्टै राष्ट्रिय टिमको घोषणा गरेका हुन्।
दासानायकेलेले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टाेलीकाे घोषणा गरेका छन् । प्रधानमन्त्री कपमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको हाे।
पिएम कपमा उत्कृष्ट प्रदर्शन गरेका केही सिनियर र केही युवा खेलाडीले टिममा मौका पाएका छन् । जसमा एपिएफका ओपनर प्रदीप ऐरी र जितेन्द्र मुखियाले लामो समयपछि राष्ट्रिय टिममा पुनरामगन गर्दा युवा खेलाडीद्वय लोकश बम र विवेक यादवले पहिलो पटक टिममा स्थान बनाएका छन्।
प्रधानमन्त्री कपमा चल्न नसकेका राष्ट्रिय टिमका नियमित सदस्य सोमपाल कामी, विनोद भण्डारी टिममा अटाउन असफल रहँदा प्रतियोगितामा पूर्णरुपमा असफल भएका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल भने टिममा परेका छन्।
ज्ञानेन्द्र मल्लमा टिम पर्नुलाई केही समय अगाडि भएको क्यान–खेलाडी विवादको एउटा भाग भएको मान्न सकिन्छ । सोमपाल र ज्ञानेन्द्र दुवै फर्मममा थिएनन्, तर ज्ञानेन्द्र टिममा पर्नु र सोमपाल बाहिरिनुले त्यसलाई पुष्टी गर्छ ।
खेलाडी वर्गीकरणमा असन्तुष्टी जनाएपछि ज्ञानेन्द्र र सोमपालसहित दीपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीलाई क्यानले कारबाही गरेको थियो । क्यानले ज्ञानेन्द्र र दीपेन्द्रलाई पदबाट हटाएको थियो भने चारै जनालाई ६ महिना वर्गिकरणमा नराख्ने निर्णय गरेको थियो।
विश्वकप छनोटका बन्द प्रशिक्षण सुरु भएको भोलिपल्ट ज्ञानेन्द्रसँग छलफल गरेपछि क्यानले चारै जनालाई ६ महिना वर्गीकरणमा नराख्ने निर्णय हटाएको थियो। त्यसपछि विदाद सकिएको थियो। ज्ञानेन्द्रकै नेतृत्वमा खेलाडीले क्यानविरुद्ध आवाज उठाएकाले फेरि त्यस्तो नल्याउनका लागि पनि क्यान फर्ममा नरहेका ज्ञानेन्द्रलाई टिममा राखेको बुझ्न सहजै सकिन्छ।
यता, पिएम कपका सर्वोत्कृष्ट बल बनेका स्पिनर अनिल खरेल टिममा नपर्नुलाई आश्चर्यका रुपमा हेरिएको छ। उनको स्थानमा प्रतियोगितामा ठिकठाक प्रदर्शन गरेका साहब आलमलाई टिममा राखिएको छ। प्रतियोगितामा अनिलले ४खेलमा १० विकेट लिएका थिए भने साहबले ६ विकेट लिएका थिए। यस्तै फर्ममै नरहेका कुशल मल्ल पनि टिमा अटाएका छन्।
नेपाली टिम : सन्दीप लामिछाने, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कमलसिंह ऐरी, शाहब आलम, अभिनाश बोहरा, प्रदीप ऐरी, जितेन्द्र कुमार मुखिया, विवेक यादव, लोकेश बम











