Kathmandu Press

कमला ह्यारिसको दक्षिण एसिया नाता

काठमाडौं, माघ २० : आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेर विश्वभरि तरङ्ग ल्याएकी कमला देवी ह्यारिस आखिर को हुन् ? के हो उनको ....

कमला ह्यारिसको दक्षिण एसिया नाता

काठमाडौं, माघ २० : आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेर विश्वभरि तरङ्ग ल्याएकी कमला देवी ह्यारिस आखिर को हुन् ? के हो उनको पहिचान ? 

अन्तरजातीय विवाहबाट जन्मिएकी ह्यारिसको पहिचानबारे धेरै जिज्ञासाहरू छन् । के उनी अफ्रिकी–अमेरिकी हुन् ? वा भारतीय–अमेरिकी ? सबै जान्न चाहन्छन् । 

हावर्ड विश्वविद्यालयमा ह्यारिसलाई सोधिएको थियो, “तपाईं अफ्रिकी–अमेरिकी महिला हुनुहुन्छ र भारतीय–अमेरिकी पनि । तपाईं आफूलाई कसरी चिनाउनुहुन्छ ?”

उनको छोटो उत्तर थियो – “एउटा स्वाभिमानी अमेरिकी ।”

अमेरिकी राष्ट्रपति बन्ने अभियानमा रहेकी ह्यारिस स्वभाविक रुपमा आफूलाई एक अमेरिकीको रुपमा मात्रै चिनाउँन चाहन्छिन् । तर, भारतीयहरू मात्र हैन, सारा दक्षिण एसियावासीहरू चेन्नईबाट अमेरिका पुगेकी एक आप्रवासी तमिल महिलाकी छोरी विश्वकै शक्तिशाली राष्ट्रको कार्यकारी प्रमुख हुने सम्भावनाले पुलकित छन् ।

डेमोक्रेटिक पार्टी सदस्य ५४ वर्षीया ह्यारिस भारतीय मूलकी प्रथम अमेरिकी सिनेटर हुन् । आमा भारतीय र बुवा जमैकन आप्रवासी हुन् । अमेरिकी सिनेटमा उनी एकमात्र अश्वेत र दक्षिण एसियाली महिला सदस्य हुन् । ह्यारिस अफ्रिकी–अमेरिकी वा दक्षिण एसियाली पूर्वज् भएकी प्रथम महान्यायाधिवक्ता पनि हुन् ।

ह्यारिसकी आमा श्यामल गोपालन भारतीय स्वतन्त्रता सेनानी पी. भी. गोपालनकी छोरी हुन् । १९ वर्षको उमेरमा इन्डोक्राइनोलोजी अध्ययन गर्न युसी (युनिभरसिटि अफ क्यालिफोर्निया) बक्र्ली आएपछि उनको भेट डोनाल्ड ह्यारिससँग भयो र नागरिक अधिकार आन्दोलनमा होमिइन् । ह्यारिस ११ वर्षको हुँदा आमाबाबुले सम्बन्ध विच्छेद गरे । ह्यारिस र उनकी बहिनीलाई आमा श्यामलले एक्लै हुर्काइन् ।

ह्यारिसले हालै मात्र एउटा संस्मरणात्मक पुस्तक दि ट्रुथ्स वि होल्डड्ः एन अमेरिकन जर्नी” लेखेकी छिन् । ह्यारिस युनिभर्सिटी अफ क्यालिफोर्निया हेस्टिङ्स र हावर्ड युनिभर्सिटीकी पूर्व विद्यार्थी हुन् ।

सिनेटर बनेपछि ह्यारिसले सबैका लागि औषधीउपचार, अध्यागमन तथा भन्सार निकायको सुधार र गाँजालाई वैधानिकता दिनेजस्ता थुप्रै प्रगतिशील नीतिका लागि वकालत गरेकी छिन् । 

सर्वाेच्च अदालतका प्रत्याशी ब्रेट कभानाह, होमल्यान्ड सेक्युरिटी सचिव किस्र्चेन नियल्सन र पूर्व महान्यायधिवक्ता जेफ सेसनसजस्ता ट्रम्पले नियुक्त गरेका पदाधिकारीबारे सिनेटको बहसमा कडा प्रश्न गरेपछि उनी लिबरल अभियन्ता र ‘नेटिजन’ माझ लोकप्रिय बनिन् ।

ह्यारिस राष्ट्रपति ट्रम्पको खुलेर आलोचना गर्छिन् । मेक्सिकोको सीमामा पर्खाल बनाउने ट्रम्पको प्रस्तावलाई उनले “अभिमानी परियोजना” भनेकी छिन् ।

सबैको प्रिय प्रतिनिधिको रूपमा उदाए पनि सिनेटर ह्यारिसले डेमोक्रेटिक पार्टीकै उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ । म्यासाच्युसेट्सकी सिनेटर एलिजाबेथ वार्रेन, हवाईकी कंग्रेस प्रतिनिधि तुलसी ग्याबर्ड, न्युयोर्क सिनेटर किस्र्टेन गिल्लीब्रान्ड र पूर्व आवास सचिव हुलियन क्यास्ट्रोले पनि राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

निर्वाचनमा के होला त्यो त समयले नै बताउनेछ तर राष्ट्रपति पदका शीर्ष तीन प्रत्याशी तथा सिनेटरत्रय वार्रेन, गिल्लिब्रान्ड र ह्यारिस सबै महिला हुनुले डेमोक्रेटिक पार्टी पनि परिवर्तन भइरहेको स्पष्ट छ ।

राष्ट्रपतिका लागि उम्मेदवारी दिने ह्यारिस अमेरिकी इतिहासकै तेश्रो अश्वेत महिला हुन् । उनले मार्टिन लुथर किङ जुनियर दिवसमा उम्मेदवारी घोषणा गरिन् ।

डा. किङ र अमेरिकाप्रति उनको उच्चाकाङ्क्षाबाट प्रेरित भएको बताउने ह्यारिसले सो स्मृति दिवसको अवसरमा उम्मेदवारीे घोषणा गर्न पाउँदा गौरवान्वित अनुभव गरेको बताइन् ।

नागरिक अधिकार आन्दोलनमा आमाबाबुको संलग्नता र आफ्नो अश्वेत वंशजबारे ह्यारिसले खुलेर बोल्दै आएकी छिन् । आफ्नो पुस्तकमा पनि आफू र बहिनी अश्वेत बालिकाको रूपमा हुर्किएको उनले लेखेकी छिन् ।

“दुई जना अश्वेत छोरी हुर्काइरहेको छु भन्ने आमाले राम्ररी बुझेकी थिइन्,” उनी लेख्छिन्,“उनको अंगिकृत स्वदेशले माया र मलाई अश्वेत बालिका नै देख्छ भन्ने थाहा पाएकी थिइन् र हामीलाई आत्मविश्वासले भरिएका, स्वाभिमानी अश्वेत महिला बनाउन दृढ थिइन् ।”

राजनीतिक यात्रा र जीवन तमिल आमाबाट प्रभावित भएको उनले बारम्बार बताउँदै आए पनि, भारतीय मूलका अमेरिकीमाझ उनले भारतीय–अमेरिकीको पहिचानलाई कति स्वीकार्छिन् भन्ने व्यग्रता छाएको छ ।

एजेन्सीहरूमा आधारित

प्रकाशित मिति: ०७:३५ बजे, आइतबार, माघ २०, २०७५