ब्रिगेड बोइजमाथि मछिन्द्रको सानदार जित

काठमाडाैं, माघ २ : राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तिमगर चम्किएको खेलमा मछिन्द्र क्लबले सानदार जित निकालेको छ। आइतबार दशरथ रंगशालामा विमलले २ गोल र १ असिस्ट गरेपछि मछिन्द्रले ब्रिडेग बोइज क्लबमाथि ४–०को जित निकाल्यो।
डिफेन्डिङ च्याम्पियन मछिन्द्रको जितमा विमलसँगै अभिषेक रिजाल र रेजिन सुब्बाले पनि गोल गरे । खेलमा चारै गोल दोस्रो हाफमा सम्भव भएको थियो।
विमलले ८ मिनेटमा २ गोल गरेपछि मछिन्द्र दोस्रो हाफको सुरुआतमै २–०को अग्रता लियो । उनले ५६ र ६२औं मिनेटमा गोल गरेका थिए । जारी लिगमा विमलले गोल गरेको यो दोस्रो खेल हो।
८४औं मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई जिततर्फ डोहो¥याए । उनले विमलको पासमा गोल गरेका थिए । त्यसमा इन्जुरी समयमा अभिषेकले गोल गरेपछि मछिन्द्रले ४–०को सानदार जित निकाल्यो ।
यो जितसँगै मछिन्द्रले शीर्ष स्थानमा ४ अंको अग्रता लिएको छ। र, ४ खेल मात्र बाँकी रहेको अवस्थामा उपाधि रक्षाको अभियानलाई थप बलियो बनाएको छ।
मछिन्द्रको ९ खेलबाट २३ अंक छ । दोस्रो स्थानमा रहेको मनाङको १९ अंक छ । यता, पाँचौ हार बेहोरेको ब्रिगेड बोइज भने ६ अंकसहित १२औं स्थानमा छ।











