तनहुँको जिपी कोइराला उपचार केन्द्रमा अक्सिजन उत्पादन सुरु
दमौली, माघ २ : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ । उपचार केन्द्रमा जडान...
दमौली, माघ २ : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ ।
उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट पहिलो पटक अक्सिजन उत्पादन सुरु भएको हो। दुई करोड १८ लाखको लागतमा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । अस्पताल नजिक रहेको विद्युत्को ट्रान्सफर्मरको क्षमता बढाउनुपर्ने भएकाले अक्सिजन उत्पादनमा तीन महिना ढिलाइ भएको उनले बताए।
प्लान्टबाट दैनिक १०० सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । तर अहिले आवश्यकताअनुसार मात्रै अक्सिजन उत्पादन गरिएको डा श्रेष्ठले बताए । ‘अहिले जति आवश्यक हुन्छ, त्यतिमात्रै अक्सिजन उत्पादन भइरहेको छ,’ उनले बताए। कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरका बेला अक्सिजन नपाएर समस्या भइरहेका अवस्थामा सङ्घीय सरकारले केन्द्रमा प्लान्ट जडानका लागि रकम विनियोजन गरेको थियो । ‘त्यसबेला अक्सिजन हाहाकार हुँदा बिरामीलाई निकै सास्ती भएको थियो, अब अस्पतालमै अक्सिजन उत्पादन भएपछि सहज हुन्छ,’ उनले भने । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आइसकेकाले अब हुने सङ्क्रमितको उपचारमा यसले सहयोग पु¥याउने डा श्रेष्ठले बताए।
तनहुँका स्थानीय तहले संयुक्तरुपमा लगानी गरेर उपचार केन्द्रमा आइसोलेसन भवन निर्माण गरिदिएका छन् । ओमिक्रोन भेरियन्टको जोखिम बढेसँगै आइसोलेसनलाई तयारी अवस्थामा राखिएको छ । उक्त आइसोलेसन लामो समयदेखि खाली छ।
तीस शय्याको आइसोलेसनमा प्रत्येक शय्यामा अक्सिजनको व्यवस्था गरिएको छ । आइसोलेसनमा पाँच शय्या सघन उपचार कक्ष र तीन शय्यामा भेन्टिलेटरको व्यवस्था गरिएको छ । आइसोलेसनमा पहिलो चरणमा २७७ र दोस्रो चरणमा २२२ सङ्क्रमितले सेवा लिएको बताइएको छ।












