Kathmandu Press

दशैंअघि गाडी भाडा नबढ्ने, अर्को सातादेखि टिकट बुकिङ

काठमाडौं, भदौं २२ : दशैं-तिहारअघि गाडी भाडा नबढ्ने भएको छ। राष्ट्रिय यातयात व्यवसायी महासंघले नयाँ भाडादर तोक्न दबाब दिइरहेको भएपनि दशैं अघि नबढ्ने भए....

दशैंअघि गाडी भाडा नबढ्ने, अर्को सातादेखि टिकट बुकिङ
फाइल फोटो

काठमाडौं, भदौं २२ : दशैं-तिहारअघि गाडी भाडा नबढ्ने भएको छ। राष्ट्रिय यातयात व्यवसायी महासंघले नयाँ भाडादर तोक्न दबाब दिइरहेको भएपनि दशैं अघि नबढ्ने भएको छ।

यातयात व्यवस्था विभागले सरोकारवालासँग गरेको छलफलमा दशैंअघि गाडी भाडा नबढाउने सहमति भएको जनाएको छ। विभागका एक अधिकारीका अनुसार, नयाँ भाडादर तोक्ने विषयमा छलफल भएपनि सहमति भएको छैन। दशैं अघि गाडी भाडा बढाउने पक्षमा विभाग छैन।

गत वर्ष असोज ६ गते यातायात व्यवसायि र सरकारबीच भएको सहमति अनुसार, मंसिर २९ गतेभित्र नयाँ वैज्ञानिक भाडादर कायम गरी लागू गर्ने उल्लेख थियो। त्यतिबेला बढीमा १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएको थियो।

Hardik ivf

यातायात व्यवसायीले भने दशैंका लागि टिकट बुकिङ खोल्नु अघि नै वैज्ञानिक भाडादर कायम हुनुपर्ने माग गर्दै आएका छन्। पूरानो सहमतिअनुसार, दशैं अघि नयाँ भाडादर तोक्दा व्यवसायीले विभागलाई दबाब दिँदै आएका छन्।

यस विषयमा अझै विभाग र व्यवसायीबीच छलफल हुने विभागका प्रवक्ता तीर्थराज खनालले बताए। ‘अझै बैठक बस्न बाँकी नै भएकाले तत्काल भन्न सक्ने अवस्था छैन। सायद दशैपछि बढाउने कुरा हुन सक्छ,’ खनालले काठमाडौंप्रेससँग भने।

विभाग र यातायात व्यवसायीबीच भएका छलफल अनुसार, दशैंपछि एउटा कार्यदल गठन गर्ने र सोही कार्यदलको सुझावअनुसार भाडा समायोजन गरिने भएको छ।

सार्वजनिक यातायातमा २०६८ मा भाडादर समायोजन भएको थियो। त्यसपछि असार १ गते नयाँ भाडादर कायम गरिएको सूचना जारी भएको थियो। तर, सबैतिरबाट विरोध भएपछि सरकारले भाडा बढाउने निर्णय फिर्ता लिएको थियो।

अग्रिम टिकट बुकिङ अर्को साता

अर्को सातादेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभाग र यातायात  व्यवसायीबीच भएको छलफलमा अर्को सातादेखि टिकट बुकिङ खोल्ने सहमति भएको छ।

छिट्टै बस्ने बैटकले यस विषयमा निर्णय गर्ने विभागका प्रवक्ता खनालले बताए। ‘अग्रिम टिकट बुकिङका विषयमा निर्णय गर्न बाँकी छ। व्यवसायी साथीहरू सकारात्मक हुनुहुन्छ, भदौ अन्तिम सातादेखि टिकट बुकिङ खोल्ने निर्णय हुन्छ,’ उनले भने।

अर्को सातादेखि टिकट बुकिङ खुल्ने तयारी भइरहेको राष्ट्रिय यातयात व्यवसायि महासंघका महासचिव सरोज सिटौलाले बताए। ‘केही छलफल गर्न बाँकी छ। विभागले वैज्ञानिक भाँडादर तोक्ने निर्णय गरेसँगै अग्रिम टिकटको पनि टुङ्गो लाग्नेछ,’ महासचिव सिटौलाले काठमाडौंप्रेससँग भने, ‘अर्को हप्ता निश्चितनै खुल्छ।’

यस वर्षको दशैं टीका असोज २१ गते छ। असोज १२ गते घटस्थापना रहेको छ। त्यसअघि नै दशैंका लागि घर फर्किन सुरू हुन्छ।

याे पनि पढ्नुस् :
दशैं टीकाको साइत बिहान १०ः३५ बजे

प्रकाशित मिति: १२:१२ बजे, सोमबार, भदौ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्