सडक बनेपछि एक घण्टाको यात्रा २० मिनेटमै पूरा
म्याग्दी, माघ २ : म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको छ।बेनी–जोमसोम सडकको बैसरीदेखि...
म्याग्दी, माघ २ : म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको छ।
बेनी–जोमसोम सडकको बैसरीदेखि रिसिनचौतारी जोड्ने छोटो दूरीको सडक निर्माण भएपछि यात्रा अवधि छोटिएको हो। स्थानीयवासी दुर्गाबहादुर केसीले सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको बताए।
गाडी चढेर रिसिन चौतारीदेखि रानीपौवा–पिप्ले हुँदै घुमाउने ताल पुगेर बेनी–जोमसोम सडकमा निस्कन पूरै एक घण्टा लाग्ने गरेको थियो। रिसिन चौतारीदेखि बैसरीको हाइवेमा झरेर बेनी पुग्दा करिब ४० मिनेटको समय बचत भएको उनले बताए।
पैदल हिँडेर रिसिन चौतारीदेखि बैसरी पुग्न पनि करिब एक घण्टा नै लाग्दथ्यो। रघुगङ्गा गाउँपालिका र सङ्घीय सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रमको २५ लाख बजेटबाट गत आर्थिक वर्षमा मार्ग खोलिएको बैसरी–रिसिन चौतारी सडक मर्मत र स्तरोन्नतिपछि हालैदेखि यातायातका साधन चल्न थालेका छन्।
उपभोक्ता समितिका सचिव राजन केसीले बैसरीमा करिब एक सय मिटर पहाड छिचोल्नेसहित दुई किलोमिटर सडक निर्माण भएको बताए। रिसिनचौतारी, माझखर्क, ओखरबोटलगायत बस्तीका करिब चार सय घरधुरी यो सडकबाट लाभान्वित भएका उनले बताए।
काम विशेषले सदरमुकाम बेनी र गलेश्वर जानआउनका साथै कृषि र पशुजन्य उपज निकासीका साथै निर्माण र दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको छ। रिसिनचौतारी र माझखर्क केरा खेतीको पकेट क्षेत्र हो। बिरामीलाई अस्पताल लैजान सजिलो भएको छ।
यस सडकबाट कालीगण्डकीको बगरबाट घर, भवन, सडक, सिँचाइ, खानेपानीलगायत विकास आयोजनाका लागि भगवतीमा निर्माण सामग्री ढुवानी गर्नसमेत सुविधा पुगेको छ। रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष रिम कटुवालले राजमार्गसँग जोडिने छोटो दूरीको यो सडकले रिसिनचौतारीसँगै भगवतीका बासिन्दाको आयआर्जन र समग्र विकासमा फाइदा पुगेको बताए। (रासस)











