Kathmandu Press

वन्यजन्तुको आक्रमणबाट क्षति पुगेकालाई ४८ लाखभन्दा बढी रकम राहत वितरण

रसुवा, पुस २९ : लाङटाङ राष्ट्रिय  निकुञ्जले वन्यजन्तुको आक्रमणबाट क्षति पुगेकालाई राहत रकम उपलब्ध गराएको छ। वन्यजन्तुबाट मानिस घाइते भएका, घर पालुवा चौपाया...
वन्यजन्तुको आक्रमणबाट क्षति पुगेकालाई ४८ लाखभन्दा बढी रकम राहत वितरण

रसुवा, पुस २९ : लाङटाङ राष्ट्रिय  निकुञ्जले वन्यजन्तुको आक्रमणबाट क्षति पुगेकालाई राहत रकम उपलब्ध गराएको छ। वन्यजन्तुबाट मानिस घाइते भएका, घर पालुवा चौपाया तथा खेतबारीका अन्नबाली नोक्सानको क्षतिपूर्ति वापत राहत रकम प्रदान गरिएको जनाइएको छ।

गत आर्थिक वर्षको साउनदेखि हालसम्म कूल ४८ लाख १६ हजार ६५५ रूपैयाँ राहत प्रदान गरिएको छ। वितरीत राहतमध्ये भालुको आक्रमणबाट मानव उपचार खर्चमा रू सात लाख ९६ हजार ६५५, अन्नबाली क्षतितर्फ ३४ लाख २२ हजार एवं पाल्तु चौपाया नोक्सानतर्फको पाँच लाख ९८ हजार प्रदान भएको लाङटाङ राष्ट्रिय निकुञ्जका वन प्राविधिक सुलक्षा श्रेष्ठले जानकारी दिए।

Hardik ivf

भालुको आक्रमणबाट विगतका वर्षमा दर्जनौँ मानिस घाइते परेका थिए भने पछिल्लो समय पूर्व सावधानी अपनाउँदा तीन मात्र घाइते भएका छन्। डेढ वर्षको अवधिमा जङ्गली भालु तथा बँदेलले एक हजार १७६ किसानको अन्नबाली नोक्सान पारेको र चितुवाको आक्रमणबाट ६० भन्दा बढी चौपायामा क्षति पुगेको बताइएको छ।

मानव तथा वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्न वन जङ्गल र आवादी जमिनको सिमानामा तारबार लगाउने काम सुरू गरिएको छ। किसानको खेतबारीमा वर्षेनी  वन्यजन्तुको आक्रमण बढ्दै गएपछि तारबारको माध्यबाट रोकथाम गर्ने नयाँ नीति ल्याइएको हो। लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार ७५ लाख रूपैयाँ बराबरको कार्य योजनाअन्तर्गत रसुवाको राम्चे तथा यार्सा एवं नुवाकोट जिल्लाको तादी गाउँपालिका–२ चिलाउने गाउँक्षेत्रमा तारबार लगाउने काम सुरू भएको हो।

भालु, बँदेललगायत जनावर जङ्गलबाट खेती जमिनमा पस्ने मुख्य क्षेत्रको पहिचान गरी तीनै स्थानमा करिब एक/एक किलो मिटरका दरले तारबार गरिने र यस्तो घेरावारको कार्यले किसानको अन्नबाली सुरक्षित गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको यादवले बताए। रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको हिमाली भागमा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका बासिन्दालाई परेको समस्या क्रमशः समाधान गर्दै जाने र जैविक विविधताको संरक्षणमा सहभागितामूलक तबरले अगाडि बढ्ने कार्ययोजना रहेको वन प्राविधिकले बताएका छन्।

प्रकाशित मिति: १८:२१ बजे, बिहीबार, पुस २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्