सुकुम्बासीको लगत सङ्कलन माघ १८ बाट
चितवन, पुस २९ : राष्ट्रिय भूमि आयोगले जिल्लाका तीन पालिकामा छुटेका सुकुम्बासीको लगत सङ्कलन माघ १८ गतेबाट सुरु गर्ने भएको छ। आयोगले भरतपुर महानगरपालिका,...
चितवन, पुस २९ : राष्ट्रिय भूमि आयोगले जिल्लाका तीन पालिकामा छुटेका सुकुम्बासीको लगत सङ्कलन माघ १८ गतेबाट सुरु गर्ने भएको छ।
आयोगले भरतपुर महानगरपालिका, माडी नगरपालिका र कालिका नगरपालिकामा छुटपुट भएका सुकुम्बासी दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास भएकाहरूको लगत सङ्कलनको काम सुरु गर्न लागेको हो। आयोगका सूचना अधिकारी मणिप्रसाद रेग्मीका अनुसार माघ १८ गतेदेखि सुकुम्बासीको लगत सङ्कलन गरिँदै छ।
तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोगमा परेका निवेदनबाहेक छुटपुट भएकाहरुको लगत सङ्कलन गर्न लागिएको हो । चितवनका तीनसहित देशभरका ६८ पालिकामा लगत सङ्कलन गरिने छ । लगत सङ्कलनका लागि सुकुम्बासी, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास भएकाहरुका लागि आयोगले फरक–फरक फारमको व्यवस्था गरेको छ। ती फारमसँगै निवेदनसहितको विवरण सङ्कलन गरी स्थानीय पालिकाले प्रमाणित गरी आयोगमा पठाउने छन् । स्थानीय पालिकाले यसका लागि कर्मचारी व्यवस्थापनको काम गरेको छ ।
स्थानीय तहले त्यो सूची प्रमाणित गरेर पठाएपछि आयोगले नापी कार्यालयसँगको समन्वय गरी जग्गा नापजाँच गरी प्रमाणीकरण कार्य सुरु गर्ने उहाँले जानकारी दिए। आयोगले लागत सङ्कलन सुरु भएको ३५ दिनभित्र निवेदन फारम भरेर स्थानीय तहबाट वडाका तोकिएका स्थानमा खटिएका लगत सङ्कलकमार्फत पेश गर्न आह्वान गरिएको रेग्मीले बताए।












