भाडामा सहमति नहुँदा रात्रिबस संचालनमा अन्योल
काठमाडौं, भदौ २२ : भाडादर निर्धारणमा सहमति नहुँदा काठमाडौंभित्र रात्रिबस संचालनमा अन्योल भएको छ।
काठमाडौं महानगरपालिकले रात्रिबस सञ्चा....

काठमाडौं, भदौ २२ : भाडादर निर्धारणमा सहमति नहुँदा काठमाडौंभित्र रात्रिबस संचालनमा अन्योल भएको छ।
काठमाडौं महानगरपालिकले रात्रिबस सञ्चालनका लागि यातयात व्यवस्था विभाग र यातायात व्यवसायिबीच छलफल गरेको थियो। तर, भाडादर निर्माणमा सहमति नहुँदा अलमल भइरहेको महानगरले जनाएको छ।
व्यवसायीले रात्रिबसमा भाडा बढी हुने पर्ने माग गरेपछि सहमति हुन नसकेको महानगरका प्रवक्ता इश्वरमान डङ्गोलले बताए। ‘यातायात व्यवसायीले दिउसोभन्दा दोब्बर भाडा हुनुपर्ने माग गरेका छन्, त्यसमा सहमति जुट्न सकेको छैन,’ डङ्गोलले भने।
अहिले राति ८ बजेदेखि ११ बजेसम्म साझा यातायातका तीन बस संचालन भइरहेका छन्। अन्य यातायात व्यवसायी संस्थासँग पनि रात्रिबस संचालनका लागि छलफल भइरहेको उनले बताए। ‘भाडादरमा कुरा मिलेको छैन, प्रयास गरिरहेका छौं। रात्रिबस संचालन हुन्छन तर, कहिलेदेखि चलाउने भन्ने अहिले निश्चित छैन्,’ उनले भने।
अहिले सार्वजनिक यातायात राति ८ बजेसम्म मात्रै चल्ने गरेको छ। त्यसपछि यात्रा गर्न कठिनाइ हुने गरेको छ।
रात्रिबस सेवा संचालनका लागि पहल भइरहेको यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले बताए। ‘सबै क्षेत्रसँग बसेर छलफल गर्छौ, अनि रात्रिबस संचालनका लागि अघि बढ्छौं,’ उनले भने।
त्यस्तै, काठमाडौं महानगरपालिकाले यस अघि नै राति ८ देखि १० बजेसम्म सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेको थियो। त्यस्तै, सार्वजनिक यातायातमा अनिवार्य टिकट व्यवस्था लागू गर्ने पनि निर्णय गरेको थियो।
यससम्बन्धी राजपत्रमा सूचना समेत प्रकाशित गरेको थियो। साउन १ गतेदेखि लागू गर्ने भनेको निर्णय अझै पनि लागू हुन सकेको छैन।
अनुगमन समिति नहुँदा टिकट व्यवस्था लागू गर्न कठिन भएको महानगरका प्रवक्ता डङ्गोलले बताए।












-(7)-1765197040.jpg)