खाँदबारीको बसपार्कबाट रुद्राक्ष चेप्ने क्लिपसहित अवैध औषधि बरामद
खाँदबारी, पुस २८ : प्रहरीले सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ बसपार्कमा बेवारिसे अवस्थामा रहेको रुद्राक्ष च्याप्ने क्लिप र अवैध औषधि बरामद गरेको छ। खाँदबारीको बसपार्क...
खाँदबारी, पुस २८ : प्रहरीले सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ बसपार्कमा बेवारिसे अवस्थामा रहेको रुद्राक्ष च्याप्ने क्लिप र अवैध औषधि बरामद गरेको छ। खाँदबारीको बसपार्क नजिकै सडकको किनारमा छोडिएको अवस्थामा रुद्राक्ष च्याप्ने क्लिप र अवैध औषधि फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खसवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।
प्रहरीको नियमित गस्तीका क्रममा सडकछेउमा बोरा थुपारिएको भेटिएको र बोरा खोलेर हेर्दा विभिन्न उक्त सामग्री फेला परेको प्रहरी निरीक्षक अधिकारीले बताए। मङ्गलबार बिहान सडकछेउमा राखिएको बोराभित्र नौ हजार ५२० थान रुद्राक्ष च्याप्ने क्लिप, कृषि बालीमा लगाउने पिबिओजी नामको औषधि ११६ प्याकेट, केएचटुपिओ नामको औषधि १५ प्याकेट, सिलिलोङ नामको औषधि २० बोतल र वाटरपम्प लेखिएको औजार एक थान फेला परेको हो। सबै सामग्री भन्सार छलेर ल्याइएको हुनसक्ने प्रहरीले जनाएको छ।
उक्त सामानका लागि हालसम्म कसैले पनि दाबी गर्न नआएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। बरामद भएको सामान राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरी निरीक्षक अधिकारीले बताए। पछिल्लो समय रुद्राक्षको आकार परिवर्तन गर्नका लागि फल्दै गरेको दानामा क्लिप लगाइँदै आएको छ। क्लिपले तल्लो र माथिल्लो भागबाट च्यापिदिएपछि सामान्यतया चेप्टो आकारको दाना निस्किने गरेको छ।
त्यस्तै रुद्राक्षको दानालाई चिल्लो बनाउनका लागि विभिन्न औषधि छर्किने गरिएको छ। चेप्टो र चिल्लो रुद्राक्षको दाना चिनियाँ व्यापारीको रोजाइमा पर्दै आएको छ। सङ्खुवासभा प्रहरीले यसअघि खाँदबारी–९ तुम्लिङटारबाट दुई चिनियाँ नागरिकसहित अवैध औषधि पक्राउ गरेको थियो। पछिल्लो समय रुद्राक्षका कारोबारका लागि चिनियाँ नागरिक सङ्खुवासभा र भोजपुर आउने गरेका छन्।












