Kathmandu Press

‘टाइगर कप’ भलिबल : पुलिस क्लब अपराजित

‘टाइगर कप’ भलिबल : पुलिस क्लब अपराजित

कास्की, पुस २८ : पोखरा रङ्गशालामा जारी दोस्रो संस्करणको ‘टाइगर कप’ आमन्त्रित खुला क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ नेपाल पुलिस क्लबले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ। टाइगर गु्रप अफ पोखराको आयोजनामा यही पुस २६ गतेदेखि पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन भएको प्रतियोगितामा आज पुलिसले अर्काे विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दे फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।

पुलिसले एपिएफमाथि २५–२१, २३–२५, २५–२३ र २५–१९ अङ्कको जीत निकाल्न सफल भएको छ। जीतसँगै अपराजित रहेको पुलिसले तीन खेलबाट आठ अङ्क जोड्न सफल भयो भने एपिएफले लगातार तेस्रो खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ। यसैगरी आज सम्पन्न पुरुषतर्फको अर्को खेलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले विभागीय त्रिभुवन आर्मी क्लबमाथि ३–० को सोझो सेटमा विजयी हुँदै प्रतियोगितामा पहिलो जीत निकालेको छ। हेल्प नेपालले आर्मीलाई २५–१५, २५–२१ र २५–२२ अङ्कको सोझो सेटमा पराजित गरेको थियो।

महिलातर्फ विभागीय क्लब नेपाल एपिएफले प्रतियोगितामा उत्कृष्टरुपमा अघि बढेको होवाङ्न्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि ३–२ को जीत दर्ता गरेको छ। एपिएफले २१–२५, २५–२१, १०–२५, २५–१२ र १५–८ अङ्कको जीत निकालेको हो। जीतसँगै एपिएफको दुई खेलबाट पाँच अङ्क छ भने न्यू डायमन्डले आफ्ना तीन खेलबाट सात अङ्क जोडेर शीर्ष स्थानमा कायम रहेको प्रतियोगिताका प्राविधिक संयोजक तहल सिंह थापामगरले जानकारी दिए।

महिलातर्फको अर्काे खेलमा नेपाल पुलिस क्लबले आयोजक टाइगर ग्रुप अफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गरेको छ। पुलिसले टाइगरलाई २५–२०, २५–१७ र २५–२२ अङ्कले पराजित गरेको हो। माघ १ गतेसम्म राउण्ड रोविन लिगका आधारमा सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता छ।

प्रकाशित मिति: २०:३३ बजे, बुधबार, पुस २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्