बेलायतको यो अचम्मको संग्रहालय !
वेलकम कलेक्सनकी क्युरेटर क्लेयर बार्लोले नयाँ तर स्थानीय प्रदर्शनी “बिइङ ह्युमन” को “टुर” गराइन्। वेलकम कलेक्सन लन्डनस्थित विज्ञान र औषधिको संग....
वेलकम कलेक्सनकी क्युरेटर क्लेयर बार्लोले नयाँ तर स्थानीय प्रदर्शनी “बिइङ ह्युमन” को “टुर” गराइन्। वेलकम कलेक्सन लन्डनस्थित विज्ञान र औषधिको संग्रहालय हो।
प्रदर्शनीमा एउटा अचम्मको उपकरण पनि छ। त्यसले मानव मलमूत्र प्रत्यारोपण गरी पेटको संक्रमण रोक्दछ। त्यहाँ एउटा यस्तो मूर्ति छ जसले महिलाको दूधको गन्ध दिन्छ। त्यसैगरी २० औं शताब्दीमा औषधि विज्ञानको क्षेत्रमा भएका ठूला उपलब्धिहरूको आधार बनेका “सेल” पनि राखिएका छन्। ती “सेल” सन् १९५० को दशकमा अफ्रिकी अमेरिकी महिला हेन्रिएट्टा ल्याक्सबाट उनको मञ्जुरी नलिएरै लिइएका थिए।
तर बार्लोले त्यहाँबाट टुर सुरू गरिनन्। बरू एउटा डिस्प्लेको तल देखाउँदै भनिन्,“त्यो कालो रंगमा पोतिएको देख्नुहुन्छ?”, उनले उत्साहका साथ भनिन्,“सुन्दर पनि देखिन्छ। भुइँसँग पनि मेल खान्छ। त्यही भएर हो।”
दृष्टिविहीनहरूलाई यताउता जानलाई सहयोग गर्न त्यस्तो रंग लगाइएको बार्लोले बताइन्। त्यसपछि एउटा भिडियो स्क्रिनअघि भएको एउटा बेञ्च देखाइन्। “मिलेको छैन हगि? बीचबाट अलि बाङ्गो छ,” उनले भनिन्।
ह्विलचेयर प्रयोगकर्ताले त्यसलाई सहारका लागि प्रयोग गर्न र सबै देख्नसक्ने उनले बताइन्। सामान्यतया संग्रहालयमा उनीहरू एक छेउमा बस्नुपर्ने बाध्यता हुन्छ।
अपांगता भएका व्यक्तिहरूका लागि अन्य सुविधाबारे पनि बार्लोले बताइन्। “एक्जिट” मार्ग प्रष्टसँग राखिएको छ। अप्ठ्यारोमा परेकाहरू सजिलैसँग बाहिर जानसक्छन्। बेलायती साङ्केतिक भाषालगायत श्रव्यदृश्य सम्बन्धी निर्देशिकाहरू पनि छन्। प्रदर्शनमा राखिएका विभिन्न वस्तुहरू आगन्तुकले छुन पनि पाउँछन्।
“तपाईंले आवश्यक छैन भने याद नहोला,” बार्लो भन्छिन्,“तर आवश्यक परे, यहाँ सबै छ।”
“बिइङ ह्युमन”लाई अपांगताको हकहितका लागि पैरवी गर्ने केही अभियन्ता र अनुसन्धाताहरूले बेलायतमा खोलिएको सबैभन्दा “पहुँचयोग्य” संग्रहालय बताएका छन्। “यो अभूतपूर्व छ,” युनिभर्सिटी अफ लेस्टरको रिसर्च सेन्टर फर म्युजियम्स एन्ड ग्यालेरिजका रिचर्ड स्यान्डेलले भने।
प्रदर्शनीको सजिलो डिजाइन एउटा पक्ष हो तर यसको “क्युरेटोरियल अप्रोच” सबैभन्दा महत्वपूर्ण भएको उनले बताए। अपांगता भएका धेरै मानिस औषधि उपचार सम्बन्धी संग्रहालय मन पराउँदैनन्। धेरैले उनीहरूलाई बिरामीको रूपमा प्रस्तुत गरेका छन्। यहाँ भने त्यस्तो नहुने उनले बताए। यो संग्रहालयले उनीहरूको कथालाई प्राथमिकतामा राखेको उनी बताउँछन्।
उदाहरणका लागि यहाँ कृत्रिम अंगहरू पनि राखिएका छन्। केही “मेडिकल म्यूजियम”मा यसलाई इन्जिनियरिङको अद्भूत आविष्कारका रूपमा प्रदर्शन गरिएको तर “बिइङ ह्युमन”ले त्यसका प्रयोगकर्तालाई ध्यानमा राखेको स्यान्डेलले बताए।
संग्रहालयहरूमा अपांगताको पहुँच बेलायतमा आजभोलि निकै चर्चामा छ। व्हिलचेयर प्रयोगकर्ता कियारा ओकनर ओलाफुर इलियासनको कृत्रि हेर्न टेट मोर्डन गएकी थिइन्। त्यहाँ इन्स्टा गर्न मिल्ने अन्तर्क्रियात्मक प्रदर्शनीले धेरै ध्यानाकर्षण गरेको छ।
त्यहाँ पुगेपछि एउटा प्रदर्शनी उनका लागि अप्ठ्यारो भएको चाल पाइन्। त्यहाँ दुई वटा खुड्किला थिए। र्याहम्प थिएन। ओकनरका साथीलाई सहयोगीले त्यहाँ र्याखम्प नराख्ने निर्णय क्युरेटरले गरेको र बाहिरबाट जानुपर्ने सुझाव दिए।
ओकनरले पनि ३७ वटा आक्रोशपूर्ण ट्वीट गरिन्। ती ट्वीटहरू भाइरल भए। “न्यूनतम सेवासुविधाबारे हामीले कुरा गर्दा सपाङ्गहरूले टाउको नदुखाउन् भन्ने म चाहन्छु,” उनले एउटा ट्वीट गरिन्, “पहुँच कुरूप हुँदैन। झन्झट र लथालिङ्ग पनि होइन। पहुँच कलासँग सम्बन्धित छ र जहाँ पनि हुन्छ।”
टेटले पछि ओकनरसँग माफी माग्यो। पिटरलू हत्याकाण्डको दुई सय वर्ष मनाउने क्रममा एउटा सार्वजनिक स्मारकलाई लिएर वर्षको सुरूमा म्यान्चेस्टरमा एउटा घटना भयो। बेलायतको श्रम इतिहास यो एउटा महत्वपूर्ण घटना हो। सेनाले विरोध प्रदर्शन गरिरहेका १८ जनाको हत्या गरेको थियो।
१२ लाख अमेरिकी डलरको सो स्मारकलाई जेरेमी डेलरले बनाएका थिए। स्मारमा ११ ओटा डिस्कको खुड्किला बनाइएको थियो। सर्वसाधारण त्यहाँ चढून् र माथिबाट भाषण गरून् भन्ने डेलरको चाहना थियो। तर अपांगता भएका धेरै मानिसहरू त्यहाँ चढ्न सकेनन्।
“अपांगता भएका व्यक्तिका लागि सहज पहुँच भएन भने लोकतन्त्रका लागि ज्यान दिएका व्यक्तिहरूको स्मारक हुनै सक्दैन,” मोराग रोजले भने। उनी अपांग अधिकारका अभियन्ता हुन्। मूर्तिकार तथा ह्विलचेयर प्रयोगकर्ता टोनी हिटन संग्रहालयले अपांगता भएका व्यक्तिहरूसँग सरसल्लाह नगर्दा समस्या हुने गरेको बताउँछन्। उनले पेरिसको पिकास्सो म्यूजियम लगायत युरोपभरिका संग्रहालय अपांगता भएका व्यक्तिका लागि पहुँचयोग्य नभएको बताए।
“कुनै संस्थामा यस्ता मुद्दाहरू अनुभव नगरेका व्यक्ति भएनन् भने गल्तीहरू हुन्छन्,” उनले भने। वेलकम ट्रष्टले आर्थिक सहयोग गर्ने वेलकम कलेक्सन विश्वकै धनी च्यारिटीमध्ये पर्दछ। संस्थाले “बिइङ ह्युमन” तयार गर्दा अपांगता भएका व्यक्तिलाई सहभागी गराउने सक्दो प्रयास गरेको संग्रहालयकी क्युरेटर बार्लोले बताइन्।
संग्रहालयले अपांगता भएका व्यक्ति मात्रै नभएर अटिजम र मानसिक स्वास्थ्य समस्या भएकाहरूसँग पनि छलफल र परामर्श गरेको छ। भित्तामा फोटो कति माथिसम्म राख्नेदेखि लिएर त्यसको लेबलमा के लेख्नेसम्मका विषयवस्तुबारे उनीहरूले सल्लाह दिए।