Kathmandu Press

‘लोकप्रिय सरकार सञ्चालन गरेर क्रान्ति सफल हुनसक्छ’

‘लोकप्रिय सरकार सञ्चालन गरेर क्रान्ति सफल हुनसक्छ’

काठमाडाैं, पुस २७ : नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेकपा एमालेले नेपालमा लोकप्रिय सरकार सञ्चालन गरेर पनि क्रान्ति सफल हुनसक्छ भनी प्रयोग गरेको बताएका छन। प्रेस चौतारी काठमाडौँको पाँचाैं अधिवेशनको उद्घाटन कार्यक्रममा उनले पार्टीले सरकार सञ्चालन गर्दा धेरै उपलब्धि हासिल गरेको बताए। एमालेले सरकार सञ्चालन गर्दा धेरै सकारात्मक काम गरे पनि त्यो बिकाउन नसकेको उनको भनाइ छ। उनले भने, 'बोल्नेको पिठो बिक्छ र नबोल्नेको चामल बिक्दैन भन्ने उखान छ, हामीले बासमती चामल पनि बेच्न सकेका छैनौँ।'

प्रेस चौतारी नेपालले देशको स्वाधीनता, स्वायतत्ता र देशभक्तिका पक्षमा कलम चलाउनुपर्ने पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुखसमेत रहेका गुरुङको जोड छ। सङ्गठन अरु २१ वटा जनवर्गीय सङ्गठभन्दा फरक भएर काम गर्नुपर्ने उनले औँल्याए। एमाले सरकारले अघि सारेका धेरै जनतासँग जोडिने कार्यक्रमले अहिले निरन्तरता नपाएको उनको भनाइ छ।

पार्टीका विदेश विभाग प्रमुख डा राजन भट्टराईले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले आगामी निर्वाचनमा हामीले यी काम गरेका थियौँ भनी देखाउन सक्ने काम गरेको बताए। प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले मिडियाले निर्माण गर्ने विचारले नै पार्टीको छवि निर्माणमा भूमिका खेल्ने बताए।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सङ्गठले विगतदेखि नै निर्वाचनको समयमा पार्टीलाई सहयोग गर्दै अघि बढिरहेको बताए। एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले पार्टी र सङ्गठनबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २०:४५ बजे, मंगलबार, पुस २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्