बहिरा महासंघको गुनासो : बहिराको शिक्षामा सरकारले हेरेन
संविधानमा ‘प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने’ उल्लेख छ। तर, बहिरालाई पाँच–सात वर्षभन्दा कम उमेरमा विद्यालयले भर्ना नलिने गरेको महासंघका अध्यक्ष केदारप्रसाद (केपी) अधिकारी बताउँछन्।
काठमाडाैं, पुस २७ : केन्द्रीय बहिरा उच्च माध्यमिक विद्यालय नक्सालमा स्नातक पहिलो वर्षमा अध्ययनरत छन्, २४ वर्षीय प्रज्ज्वल बस्नेत। यस विद्यालयले टियुबाट अनुमति लिएर स्नातक पनि सुरु गरेको छ। जन्मजात सुन्न नसक्ने प्रज्ज्वललाई सांकेतिक भाषामा सिकाउनुपर्छ। आफूहरुलाई पढाउने शिक्षकलाई नै सांकेतिक भाषा सिकाउनुपर्ने उनी बताउँछन्।
पुस ८ गते ‘राष्ट्रिय बहिरा महासंघ’ले काठमाडौंमा ‘बहिरामैत्री र पहुँचयुक्त शिक्षाका लागि बहिरा समुदायका सवाल’ कार्यक्रम गरेको थियो, जसमा प्रज्ज्वलले आफूले भोग्दै आएका समस्या सुनाएका थिए। कार्यक्रममा प्रज्ज्वलको प्रश्न थियो– अध्ययन गराउन आउने शिक्षकलाई नै सांकेतिक भाषा प्रस्ट आउँदैन भने विद्यार्थीले कसरी सिक्ने ? ‘हामीलाई पनि शिक्षकबाट नयाँ–नयाँ कुरा सिक्ने चाहना हुन्छ,’ उनले भने, ‘तर शिक्षकले नै सांकेतिक भाषा जानेका हुँदैनन्।’
विद्यार्थीले नै सांकेतिक भाषा सिकाउनुपर्ने शिक्षक आउँदा विद्यार्थीको सिक्ने अवसर साँघुरो भएको उनको भनाइ थियो।
उता लामो समयदेखि बहिरा स्कुलमा अध्ययन गराउने शिक्षिका कृष्णप्यारी नकर्मी पनि आफ्ना पीडा सुनाउँदै थिइन्। काभ्रे जिल्लाको बहिरा स्कुलमा पछिल्लो एक दशकदेखि पढाउँदै आएकी नकर्मीको गुनासो थियो– लाइसेन्स नपाएको। ‘दरबन्दीमा शिक्षक पठाउँछन्, तर उनीहरूलाई सांकेतिक भाषा आउँदैन,’ उनी भन्छिन्, ‘सांकेतिक भाषा राम्रो भएका शिक्षकलाई लाइसेन्स दिइएको छैन।’
सरकारले सांकेतिक भाषा नआउनेलाई शिक्षकमा नियुक्ति गरिरहेको उनको भनाइ थियो। उनका अनुसार, कक्षा¬ १ देखि १० सम्म अध्ययन गराइने काभ्रेको बहिरा स्कुलमा अहिले ८० विद्यार्थीले पढ्छन्।
बहिराको शिक्षामा लापरबाही
बहिराका लागि शिक्षा र शिक्षक दुवै पक्षमाथि सरकारले लापरबाही गरिरहेको बहिरा महासंघको गुनासो छ। संविधानमा ‘प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने’ उल्लेख छ। तर, बहिरालाई पाँच–सात वर्षभन्दा कम उमेरमा विद्यालयले भर्ना नलिने गरेको महासंघका अध्यक्ष केदारप्रसाद (केपी) अधिकारी बताउँछन्। ‘सामान्यतः अरु बालबालिकालाई तीन वर्ष पुग्नै लाग्दा विद्यालयमा भर्ना गराउँछौँ,’ अध्यक्ष अधिकारी भन्छन्, ‘बहिरालाई उक्त सुविधा छैन, त्यसैले अन्य व्यक्तिसँग तुलनै हुँदैन।’
कार्यक्रममा सहभागीले सांकेतिक भाषामा बोलेका कुरालाई दोभासे दिनेश श्रेष्ठले नेपालीमा अनुवाद गरेका थिए। महासंघका अध्यक्ष अधिकारी भने बोल्न सक्छन्, सुन्न सक्दैनन्।

‘अरु बालबालिकाले जन्मेदेखि भाषा सिक्छन्, बहिराले सांकेतिक स्कुलमा गएपछि मात्र भाषा सिक्न पाउने हो। अरुले १५–१६ वर्षमा एसइई दिन्छन्, तर एसइई दिँदासम्म बहिराहरू २२–२५ पुगिसकेका हुन्छन्,’ अध्यक्ष अधिकारी भन्छन्, ‘त्यसैले बहिराहरु पढेर रोजगारीमा आउनै ढिला हुन्छ, त्यसमाथि अवसर पाउँदैनन्।’
‘इन्टरनेसनल डिस्याबिलिटी अलाइन्स’को एक प्रतिवेदन अनुसार, नेपालमा अध्यापन गराउने शिक्षकले नेपाली साङ्केतिक भाषाको प्रयोग गर्छन्। यसअन्तर्गत शब्दै पिच्छेका संकेत छन्।
बहिरालाई शिक्षा दिने भनिए पनि सिकाइको दायरा फराकिलो बनाउन नसकिएको अध्यक्ष अधिकारीको भनाइ थियो। उनका अनुसार, बहिराले लगभग पाँच हजार शब्दमा सिक्छन्। ‘कक्षा १ देखि उच्च शिक्षासम्म पाँच हजार शब्दका सांकेतिक भाषाभित्र रहेर सिकाउँछौँ,’ अध्यक्ष अधिकारीले भने, ‘जसका कारण बहिरा नयाँ कुराबाट वञ्चित हुने गरेका छन्। बहिराले पढ्छन् तर उनीहरूलाई कतै केही निवेदन लेख्न लगायौँ भने सक्दैनन्।’ त्यसैले सांकेतिक भाषाका शब्द बढाउनुपर्ने र बहिरा विद्यार्थीको आवश्यकता बमोजिम पाठ्यपुस्तक पनि केही फरक हुनुपर्ने उनको भनाइ थियो।
‘बहिरा विद्यालयमा अध्यापन गराउने शिक्षकको सांकेतिक भाषा कौशलताबारे कुनै योग्यता तोकिएको छैन। विद्यार्थी अनुपातमा शिक्षक, आवासीय सुविधा आदिबारे पनि कुनै मापदण्ड छैन,’ उनले भने, ‘सरकारले बहिरालाई शिक्षामा अगाडि बढाउन नीतिगत कुरामा सुधार गरी कार्यान्वयनमा पनि जोड दिनुपर्छ।’
देशभर करिब तीन लाख बहिरा रहेको महसंघको अनुमान छ। बहिराको वास्तविक तथ्यांक २०७८ को जनगणनाबाट आउने विश्वास गरिएको छ। ‘अहिले देशभर १५ हजार बहिराले अध्ययन गर्छन्। देशभर एक सय ७४ मात्र बहिरा स्रोत कक्षा छन्। जहाँ बहिरालाई सांकेतिक भाषा सिकाइन्छ। यीमध्ये बहिरा स्कुल मात्र २४ वटा छन्,’ अध्यक्ष अधिकारीले भने, ‘बहिरा स्कुल प्रत्येक जिल्लामा नभएका कारण पनि सबैलाई समेट्न सकिएको छैन।’
उनका अनुसार, २४ वटा बहिरा विद्यालयमध्ये पाँचवटामा प्लस टुसम्म र बाँकीमा कक्षा १० सम्म अध्ययन गराइन्छ। ‘संख्यागत रूपमै बहिरा विद्यालय कम छ,’ अध्यक्ष अधिकारी भन्छन्, ‘विद्यालय बढाउन समेत सरकारको कुनै नीति देखिँदैन।’
उच्च शिक्षासम्म अध्ययन गराइने बहिरा स्कुल उपत्यकामा एउटा मात्र छ, त्यो हो– नक्सालमा रहेको केन्द्रीय बहिरा उच्च मावि। भक्तपुर र ललितपुरमै पनि बहिराका लागि उच्च माध्यमिक तहको विद्यालय छैन।
अहिलेसम्म ५३ वटा जिल्लामा बहिरा संघ छन्। बहिरालाई सबै स्थानबाट समेट्न संघ र विद्यालय स्थापनामा जोड गरिरहेको उनको भनाइ थियो।
नेपालमा बहिरा संघ
नेपालमा औपचारिक रूपमा स्थापना भएको पहिलो बहिरा संघ हो, काठमाडौं बहिरा संघ। यो सन् १९९० मा औपचारिक रूपमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो। ‘काठमाडौं बहिरा संघले अनौपचारिक रूपमा २०३७ सालदेखि अपांगता भएका व्यक्तिको हितमा काम गर्दै आएको थियो,’ अध्यक्ष अधिकारी भन्छन्, ‘पछि बहिरा महासंघ बनाइएको हो।’
राष्ट्रिय बहिरा महासंघ नेपाल सन् १९९६ मा विश्व बहिरा महासंघको साधारण सदस्य बनेको थियो। त्यस्तै, नेपालमा खुलेको पहिलो बहिरा विद्यालय हो, नक्सालमा रहेको केन्द्रीय बहिरा विद्यालय, जुन २०२३ मा स्थापना भएको थियो।












-(86)-1764936079.jpg)