जाजरकोटमा ९० प्रतिशतले घट्यो मह उत्पादन
जाजरकोट, पुस २७ : भारी मात्रामा मह उत्पादन गिरावट आएपछि यहाँका मौरीपालक कृषक चिन्तित बनेका छन्। अघिल्लो वर्षभन्दा यस वर्ष ९० प्रतिशत मह...
जाजरकोट, पुस २७ : भारी मात्रामा मह उत्पादन गिरावट आएपछि यहाँका मौरीपालक कृषक चिन्तित बनेका छन्। अघिल्लो वर्षभन्दा यस वर्ष ९० प्रतिशत मह उत्पादनमा गिरावट आएपछि कृषक निराश भएका हुन्।
नलगाड नगरपालिका–१ कल्पतका हरिबहादुर बुढाले गत वर्ष ८७५ किलोग्राम मह बिक्रीबाट पाँच लाख बढी आम्दानी गरेका थिए। तर यसपालि मह उत्पादन नभएपछि उनी निराश छन्।
त्यस्तै गत वर्ष ३०० केजीभन्दा बढी मह उत्पादन गर्ने सोही ठाउँका हरिबहादुर पुनको ६० घार मौरीले २० केजी मह पनि लगाएन। पुनले व्यावसायिकरूपमा मौरीपालन व्यवसाय गर्दै आएका छन्।
जिल्लाभर एक हजार १०० भन्दा बढी किसानको समस्या उस्तै छ। व्यावसायिकरूपमा मौरीपालन गर्दै आएका किसान मह उत्पादन घटेपछि चिन्तित भएका छन्।
गत असोज–कात्तिक महिनामा धेरै पानी परेपछि चिउरी फूलको रस र अन्य फूलको रस बगाउँदा मह उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ। मौरीलाई चरन क्षेत्रको अभाव, वनविनास, अतिक्रमण, जलवायु परिवर्तनलगायत कारण मह उत्पादन घट्दै गएको हो।
बेमौसमी वर्षात्ले मौरी क्षेत्रका चिउरी र अन्य सिजनल फूलहरूमा पानी जम्मा भएर रस बगाएर लैजानु, विभिन्न रोगले मौरी मर्नु, किसानलाई प्राविधिक ज्ञानको कमी हुनु, आहारा नपाएर मौरी भाग्नुलगायत समस्याले मह उत्पादन घटेको कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र नेपालीले बताए।
मौरीपालन क्षेत्रमा विषादी प्रयोग बढ्दै जानु, मौरी गोलालाई अरिङ्गाललगायत शिकारी जीवबाट आक्रमण हुनु, जलवायु परिवर्तनका कारण समयमा फूल नफुल्नाले मह उत्पादन घटेको उनको भनाइ छ।
गत वर्ष प्रतिकेजी रु ६०० पर्ने मह यस वर्ष रु एक हजार प्रतिकेजी हाल्दा पनि नपाउने अवस्था छ। उत्पादन घट्दा मूल्यवृद्धि भएको छ। नलगाड नगरपालिकाद्वारा मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको क्षेत्रका किसान पनि यस वर्ष निराश छन्।
सरकारले विगत केही वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मौरी जोनमार्फत किसानलाई अनुदान तथा प्राविधिक सहयोग गदै आएको तर मह उत्पादन भने बढ्नुको साटो घट्दै गएको छ।
जाजरकोटमा गत वर्ष करिब १० टन अर्थात् १० हजार केजी मह उत्पादन हुने गरेकामा यस वर्ष ९० प्रतिशत घटेर एक टन अर्थात् एक हजार केजीको हाराहारीमा मात्र मह उत्पादन भएको कृषि प्राविधिक तथा कृषि विकास कार्यालयका सूचना अधिकारी नेपालीले बताए। उनका अनुसार जिल्लामा परम्परागत घार चार हजार २०२, आधुनिक घार एक हजार ९४६, खोपे अर्थात् घरको भित्तामा एक हजार ८४ गरी सात हजार हजार २२६ वटा घार रहेका छन्।
यी घारमा करिब ९१ हजार ४२३ कजी अर्थात् ९१ टन मह उत्पादन क्षमता रहेको भए पनि जलवायु परिवर्तनका कारण हरेक वर्ष मह उत्पादन घट्दो क्रममा रहेको नेपालीले बताए। त्यस्तै भेरी नगरपालिका–१ मैदे, पिपे पनि मह उत्पादनका हिसाबले राम्रो मानिँदै आएको छ। (रासस)












