आज पनि केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, पुस २७ : पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि देशका केही भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान...
काठमाडौं, पुस २७ : पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि देशका केही भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै‚ प्रदेश १‚ बागमती‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज बिहान प्रदेश १ र प्रदेश २ लगायत पहाडी भूभागहरुमा सामान्य बदली रहेको छ भने बाँकी स्थानमा आंशिक बदली रहेको छ।
मंगलबार दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति पनि देशभर आंशिक बदली रही प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।












