प्रधानमन्त्री कप क्रिकेट : पहिलो दिन विभागीय टिम विजयी
काठमाडाैं, पुस २६ : आजबाट काठमाडौंमा सुरु भएको प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा विभागीय टिम विजयी भएका छन् । सोमबार भएको खेलमा त्रिभुवन...
काठमाडाैं, पुस २६ : आजबाट काठमाडौंमा सुरु भएको प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा विभागीय टिम विजयी भएका छन् । सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि ६३ रनको जित निकाल्दा लो स्कोरिङ म्याचमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई २ रनले हरायो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै विजयी भएको हो।
आर्मीले दिएको ११७ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश १४.४ ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा समेटियो। उसका लागि अर्जुन घर्तीले १६ र रवीन्द्र शाहीले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
कर्णाली प्रदेशलाई सस्तैमा समेट्ने क्रममा आर्मीका जितेन्द्र मुखियाले चार विकेट लिए भने सुशन भारी र साहब आलमले समान दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ११६ रनको योगफल तयार गरेको थियो। उसका लागि कप्तान विनोद भण्डरीले २९, हरि चौहानले २० रनको योगदान दिए। बलिङतर्फ कर्णालीका प्रकाश जैसीले तीन विकेट लिए भने अनुज चुनराले दुई विकेट लिए।
यसैगरी सोमबार नै भएको खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिममाथि २ रनको रोमाञ्चक जित निकाल्यो। पहिला ब्याटिङ गर्दै पुलिसले दिएको ९४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन मात्र बनाउन सक्यो ।
सुदूरपश्चिमका गजेन्द्र बोहराले २७ तथा नारायाण जोशीले २२ रन बनाउनुबाहेक अन्यले गतिलो योगदान दिन सकेनन् । झिनो लक्ष्यमा पनि टिमलाई जित दिलाउने क्रममा पुलिसका आरिफ सेखले ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए ।
पहिला ब्याटिङ गरेको पुलिस निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ९३ रन मात्र बनाएको थियो । उसका कुशल भुर्तेलले २१ तथा पवन सर्राफले २० रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्। सुदूरपश्चिमका नारायाण जोशी र आदित्य महतले समान ३ विकेट लिए।











