Kathmandu Press

पशुपतिको वृद्धाश्रममा घट्दैछन् ज्येष्ठ नागरिक

काठमाडौं, पुस २६ : स्थानीय तहले स्थानीयस्तरमा व्यवस्थापन गर्दा पशुपतिस्थित वृद्धाश्रममा ज्येष्ठ नागरिकको सङ्ख्या घटिरहेको छ । जम्मा २३० जना क्षमताको सो आश्रममा पहिले...
पशुपतिको वृद्धाश्रममा घट्दैछन् ज्येष्ठ नागरिक

काठमाडौं, पुस २६ : स्थानीय तहले स्थानीयस्तरमा व्यवस्थापन गर्दा पशुपतिस्थित वृद्धाश्रममा ज्येष्ठ नागरिकको सङ्ख्या घटिरहेको छ । जम्मा २३० जना क्षमताको सो आश्रममा पहिले क्षमता जतिकै सङ्ख्यामा ज्येष्ठ नागरिक भए पनि अहिले त्योभन्दा आधा सङ्ख्यामा रहेको समाज कल्याण केन्द्र, वृद्धाश्रम (पशुपति) कार्यालयले जनाएको छ । 

पाँच÷छ वर्ष पहिले सङ्घीयता कार्यान्वयनमा आएसँगै यहाँ आउने यहाँ ज्येष्ठ नागरिक कम भइरहेको कार्यालयका प्रमुख ओमप्रकाश पाण्डेले बताए। उनले भने, ‘सङ्घीयता कार्यान्वयन भएपछि ७५३ स्थानीय तहमा नै ज्येष्ठ नागरिकका लागि कतै आश्रम कतै हेरचाह केन्द्र र कतै दिवा खाजा केन्द्र रहेकाले यहाँ रहेको सङ्ख्या घटीरहेको छ।’ 

Hardik ivf

विस्तारै घट्दै गएकाले अहिले आश्रममा १०२ ज्येष्ठ नागरिक रहेका छन् । यो सरकारले सञ्चालन गरेको एक मात्रै ज्येष्ठ नागरिक आश्रम हो । देशभरमा गैरसरकारी संस्थाले पहिलेदेखि नै आश्रम सञ्चालन गर्दै आएका थिए । अहिले धेरै स्थानीय तहले पनि ज्येष्ठ नागरिकका लागि आश्रम र हेरचाह केन्द्र सञ्चालन गरिरहेका छन्। 

उमेर ६० वर्ष पुगेको हुनुपर्ने र असहाय नागरिकलाई स्थानीय तहले आश्रयका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सिफारिस गर्दछ । स्थानीय तहले यो व्यक्तिलाई सहायता गर्ने व्यक्ति र सम्पत्ति छैन भनेर मन्त्रालयमा सिफारिस गर्छ । उनले भने, ‘मन्त्रालयले यहाँ सिफारिस गरेर पठाएपछि राखिन्छ।’ 
    
साठी वर्ष उमेर पूरा भएकामध्ये कतिपय हिँडडुल नै गर्न नसक्ने, कतिपय अपाङ्गता भएका र कतिपय मानसिक समस्या रहेका छन्। असहाय र अपाङ्गता भएका ज्येष्ठ नागरिकको स्याहारका लागि सुसारे, कुचिकार, भान्छेलगायत दरबन्दी रहेको प्रमुख पाण्डेले बताए। ज्येष्ठ नागरिकको हेरचाह, खानपिन, उपचारसँगै अतिरिक्त क्रियाकलापको समेत व्यवस्थापन गरिरहेको उनले बताए।
    
सामान्य उपचारका लागि यहाँ नै स्वास्थ्यकर्मी छन् भनेर ठूलो समस्या हुँदा सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज लैजाने गरिएको उनले बताए । उनले भने, ‘अस्पतालसँगको सम्झौताअनुसार निःशुल्क उपचार गर्छ।’ अहिले यहाँ मानसिक स्वास्थ्यमा समस्या भएका आठ÷नौ जना छन् । नियमितरुपमा पाटनस्थित मानसिक अस्पतालमा लगेर औषधि खुवाइरहेको उनले बताए।

कोभिडको जोखिम रहेकाले पहिले जसरी स्वास्थ्य सुरक्षामा ध्यान दिइने प्रमुख पाण्डेले बताए। सङ्क्रमण बढेपछि यहाँ बाहिरी जमघम कम गर्ने उनले बताए। ज्येष्ठ नागरिक एउटै भान्सामा खाना खानुपर्ने हुँदा जोखिम भएकाले ध्यान दिइएको छ। 
    
अहिले यहाँ ४० जिल्लाका ज्येष्ठ नागरिक छन्। उनीहरुमध्ये अधिकांश सन्तान नभएकाहरु छन्।  त्यहाँ भएका ज्येष्ठ नागरिकले कतिपयको सन्तान भएको बताउने गरेका छन् । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ आउनु पहिले यहाँ सन्तान भएका पनि रहेका थिए । त्यतिबेला आएका कतिपय अझै पनि छन् । पहिले भएकालाई हटाउन नमिले पनि अहिले ऐनअनुसार सन्तान भएकालाई राखिएको छैन । छोराछोरी छन् तर हेर्दैनन् भने अहिलेसम्म राख्न नमिल्ने उनले बताए । उनले भने, ‘अहिलेसम्म सन्तान भएकालाई राख्न प¥यो भनेर सिफारिस पनि आएको छैन।’

स्थानीय तहले मन्त्रालयमा सिफारिस गर्दा नै छोराछोरी नभएकालाई गर्दै आएको छ । अहिलेसम्म कार्यविधिका कारणले सन्तान भएकालाई नराखिएको भए पनि आगामी दिनमा कार्यविधि संशोधन गरेर राख्न सकिने उनले बताए । सन्तान नभएकासँगै दिनभर बस्न चाहने र सडकमा भेटिएका असहायलाई आश्रममा ल्याउन आवश्यक रहेको कार्यालयले जनाएको छ। 

गोठाटारमा सरकारले निर्माण गर्ने आश्रममा एकाथरी सन्तान नभएका बुबाआमा, सडकमा बेवारिसे, अर्को सन्तान हेरेर पनि हेला गरेका र अर्को दिवा सेवा केन्द्र आश्रय दिने योजना छ । कतिपय ज्येष्ठ नागरिकसँग सम्पत्ति भए पनि उनीहरु कानुनी लडाईं लड्न नसक्दा लिन नसकिरहेको प्रमुख पाण्डेले बताए। उनले भने, ‘पाँच सय क्षमताको आश्रममा छोराछोरी कोही भएनन् म दिनभर आश्रम बस्छु र भरे बेलुका जान्छु भने आउने गरी बनाइनेछ।’ 

प्रकाशित मिति: १४:४६ बजे, सोमबार, पुस २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्