Kathmandu Press

‘स्नातकोत्तरको परीक्षा दिँदा मैले गुप्तांग देखाउनुपर्‍यो’  

‘कलेजका साथीले अमानवीय व्यवहार देखाउन थाले,’ इशान भन्छन्, ‘बिस्तारै नजिकका साथी नै टाढा हुन थाले । मलाई अनेक् भन्न थाले– हिजडा, छक्का ।’ साथीहरुले साथ नदिएपछि उनी स्नातक दोस्रो वर्षदेखि कलेज जान छाडे तर अध्ययन छाडेनन्, घरमै बसेर पढ्थे । 
‘स्नातकोत्तरको परीक्षा दिँदा मैले गुप्तांग देखाउनुपर्‍यो’  

काठमाडौं, पुस २६ : ‘नक्कली परिचयपत्र बोकेर परीक्षा दिन आउने !’ भन्दै परीक्षा हलबाट निकालिए, इशान रेग्मी । उनी २०६९ मा कैलाली बहुमुखी क्याम्पस धनगढीमा स्नातकोत्तर पहिलो वर्षको परीक्षा दिन गएका थिए । 

उनी आफ्नो सिम्बोल नम्बर अनुसार परीक्षा हलमा बसेका थिए । ‘परीक्षा सुरु भएको त्यस्तै २० मिनेट भएको थियो, हाजिर सुरु भयो,’ इशान भन्छन्, ‘हाजिर गर्नेले अचम्म मान्दै केही मिनेट मेरो परिचयपत्र हेरे, अनि क्याम्पस प्रमुखसम्म पुर्‍याए ।’ 

लगत्तै कलेज प्रमुखसहित एउटा टिम आएर इशानमाथि केरकार गरियो र परीक्षा हलबाट निकालियो, नक्कली परिचयपत्र लिएर परीक्षा दिन आएको आरोपमा । 

Hardik ivf

उनको परिचयपत्रमा नाम थियो– पार्वतीकुमारी रेग्मी, शारीरिक बनावट भने पुरुषको । उनी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका हुन् । उनका बारेमा परीक्षा केन्द्र तोकिएको क्याम्पसका कसैलाई थाहा थिएन । ‘मेरा लागि प्रहरी बोलाइयो र पुनः केरकार गरियो,’ इशान भन्छन्, ‘शौचालयमा गएर मैले प्रहरी लगायतलाई आफ्नो गुप्तांग देखाएपछि मात्र परीक्षा दिन पाएँ  ।  

इशानका लागि यो जीवनकै नमीठो अनुभव हो । 

पहिले पार्वतीकुमारी, पछि इशान  

इशानको जन्म बाजुराको बूढीगंगा नगरपालिका– ९ मा भएको हो, २०४५ सालमा । छोरीको स्वरूप लिएर जन्मिएकाले सानोमा उनको नाम पार्वतीकुमारी रेग्मी राखियो । बाल्यकाल उनले छोरीकै भूमिकामा बिताए । 

बाल्यकाल पार गरेर युवावस्थामा प्रवेश गर्दा उनीमा शारीरिक परिवर्तन देखापर्न  थाले । उनी महिनावारी भएनन् । उनको छातीको आकार बढेन । बरु उमेर बढेसँगै दाह्री–जुंगा पलाउन थाल्यो । ‘स्नातक पढ्दासम्म केटीकै पहिरन लगाएँ,’ इशान भन्छन्, ‘अझ दाह्री–जुंगा काटेर केटीको स्वरूप दिन खोजेँ ।’

उनले आफ्नो शिक्षा बाजुराको भानुदया उच्च माविबाट सुरु गरेका हुन् । स्कुलमा उनलाई शारीरिक बनावटले साथ दिएको थियो, कलेज प्रवेश गरेसँगै अवस्था फेरियो । उनलाई केटीको पहिरन मिल्न छाड्यो । केटीको पहिरन लगाए पनि कलेजमा अरुले उनलाई फरक ढंगले हेर्न थाले । ‘कलेजका साथीले अमानवीय व्यवहार देखाउन थाले,’ इशान भन्छन्, ‘बिस्तारै नजिकका साथी नै टाढा हुन थाले । मलाई अनेक् भन्न थाले– हिजडा, छक्का ।’ 
साथीहरुले साथ नदिएपछि उनी स्नातक दोस्रो वर्षदेखि कलेज जान छाडे तर अध्ययन छाडेनन्, घरमै बसेर पढ्थे । 

घरमै पढी परीक्षा दिएर उनले स्नातक गरे । ‘घरमा बस्दा पनि सुख थिएन । किन घरमा मात्र बसेको ? स्वरूप पनि केटाको जस्तो आएको छ, कुन जन्मको पाप हो यो ? यस्तै के के भनेर छिमेकीले मानसिक तनाव दिन्थे,’ इशान भन्छन्, ‘घरमा कोही आफन्त नआइदिए हुन्थ्यो जस्तो लाग्थ्यो । जो आए पनि अघिल्लो जन्मको पाप भन्थे । त्यतिबेला आफ्नो जिन्दगी नै बोझ लाग्न थालेको थियो । कतिपटक त आत्महत्याको प्रयास गरेँ ।’ 

अन्ततः उनले २०६६ सालदेखि घरै छाडेर धनगढी बस्न थाले । त्यहाँ उनलाई कसैले सुझायो– ‘सुदूरपश्चिम समाज’मा जान । ‘यस संस्थामा गएपछि मात्रै मैले आफू यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको भएको बुझेँ,’ उनी भन्छन्, ‘सुरुमा आफूलाई अन्तरलिंगी भनी स्विकार्न निकै गाह्रो भयो ।’ 

बिस्तारै आफू अन्तरलिंगी भएको स्वीकार गर्दै उनले २०६७ देखि पुरुषको पहिरन लगाउन थाले । जीवनको २१ वर्ष बिताएर आफूलाई चिन्दा पनि उनलाई सुख भएन । कारण थियो– शैक्षिक प्रमाणपत्र र नागरिकताको नाम । ‘पार्वतीकुमारी नाम हुँदा केटाजस्तो भन्थे, पछि केटाको लुगा लगाउँदा केटीकै नामले गिज्याउन थाले,’ उनी भन्छन्, ‘म अपहेलित भइरहेँ, कसै गरे पनि सुख भएन ।’ 

०६७ देखि उनले सुदूरपश्चिम समाजमा स्वयंसेवकका रूपमा काम गर्न थाले । उक्त संस्थाले अन्तरलिंगीका विषयमा जनचेतना जगाउने काम गथ्र्योे । सचेतनाको काममा लागेपछि उनलाई आफू अन्तरलिंगी भएको कुरा स्विकार्न सहज हुँदै गयो ।  आफूजस्ता धेरैलाई भेटेपछि बिस्तारै आफ्नो सोच बदलिएको र साहस बढेको उनी बताउँछन् । 

२०७९ देखि उनले काम गर्दै स्नातकोत्तर पढ्न थाले, सुदूरपश्चिमाञ्चल क्याम्पस धनगढीमा । ‘भर्ना गर्न मेरो ब्याचलरको सर्टिफिकेट दिएर साथीलाई पठाएको थिएँ । त्यसैले असहज भएन,’ उनी भन्छन्, ‘तर पछि क्याम्पसमा मेरो नाम धेरैलाई थाहा भयो । पहिरन केटाको देखेपछि साथीभाइले जिस्काउन थाले । शिक्षकहरूले पटक–पटक आफ्नो कार्यकक्षमा बोलाएर छानबिन पनि गरे । पछि मेरो संस्थाका मानिस आएर बुझाएपछि मात्रै कलेजले दुःख दिन छाड्यो ।’ 

स्नातकोत्तर पहिलो वर्षको परीक्षाको केन्द्र कैलाली बहुमुखी क्याम्पसमा परेको थियो । त्यहाँ कसैले चिन्ने नहुँदा उनले समस्या भोग्नुपरेको थियो । 

इशानको नाममा नागरिकता

कक्षा ११ मा पढ्दा इशानले पार्वतीकुमारी रेग्मीको नामबाट नागरिकता लिएका थिए । २०७६ माघ २९ मा उनले इशान रेग्मीबाट नागरिकता लिएका छन् । आफ्नो पहिचानको नागरिकता लिन उनले झन्डै सात वर्ष संघर्ष गर्नुपर्‍याे। 

तत्कालीन बाजुरा जिल्ला प्रशासन कार्यालय प्रमुख गंगाप्रसाद न्यौपानेलाई उनले आफूले भोग्नुपरेका व्यथा वृत्तान्त सुनाए । ‘मेरो दुःख सुनेर उहाँले नागरिकता संशोधन गरिदिनुभयो,’ इशान भन्छन्, ‘अमानवीय पीडा भोग्नुपरेको घटना धेरैपटक धेरैलाई सुनाउनुपर्‍याे ।’ 

दोस्रोपटक नागरिकता बनाउँदा उनले लिंगमा पुरुष राख्न खोजेका थिए । तर, जिल्ला प्रशासन कार्यालयले मानेन, लिंगमा ‘अन्य’ राखिदियो । ‘अहिले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई पहिचानसहित नागरिकता दिने नियम बनाइएको छ । तर, सो व्यक्तिले इच्छाएको नाम, लिंग राख्न पाउने नियम छैन,’ उनी भन्छन्, ‘व्यक्तिले शारीरिक बनावटका आधारमा सुहाउँदो नाम राखी स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्छ ।’ 
 

प्रकाशित मिति: १२:०४ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्