राजस्व अनुसन्धानका कर्मचारीलाई अवरोध

वीरगञ्ज, पुस २६ : बारामा राजस्व छली ल्याइएको सामान नियन्त्रणमा लिन जितपुर पुगेको राजस्व अनुसन्धान कार्यालय पथलैयाको कर्मचारी टोलीलाई व्यापारीले अवरोध गरेका छन् । आइतबार कार्यालय प्रमुख नारायणप्रसाद मौनालीका नेतृत्वमा कर्मचारी टोली सो स्थानमा पुगेको थियो व्यापारीको अवरोधपछि सो टोली अनुसन्धान नगरी फर्किएको छ ।
स्थानीय व्यापारीले अनुसन्धानलाई पूर्ण प्रभाव पार्ने गरी अवरोध सिर्जना गरेपछि आफूहरु अनुसन्धान नगरी फर्किन बाध्य भएको कार्यालय सूचना अधिकारी गौरव पन्थीले जानकारी दिए। गोप्य सूचनाका आधारमा राजस्व छली ल्याइएको सामग्री कार्यालयको टोली नियन्त्रणमा लिन पुगेको थियो ।
टोली पुगेपछि स्थानीय हुलहुज्जतसहित व्यवसायीले अनुसन्धानमा अवरोध सिर्जना गरेपछि कर्मचारी अनुसन्धान बिना फर्किएको उनले बताए। राजस्व छली भित्र्याइएको विभिन्न सामान नियन्त्रणमा लिन बाराको सिमरा उपमहानगरपालिका जितपुरबजार स्थित केही गोदाममा राजस्व अनुसन्धान कार्यालयको टोली पुगेको थियो।
राजस्वको टोलीले ती सामान नियन्त्रणमा लिन खोजेपछि केही व्यापारीले अवरोध सिर्जना गरी दुई घण्टासम्म सडक अवरुद्ध पारेका थिए । पछि नेपाली सेनाको टोलीले सडक सुचारु गराएको थियो । घटनामा सम्लग्न व्यसायीलाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने कर्याालयले जनाएको छ। कार्यायका अनुसार जितपुर क्षेत्रको केही स्थानमा राजस्व छली गरी ल्याइएको माल सामान बिक्री वितरण गर्ने गरिएको बताइएको छ।
लागुऔषधसहित पक्राउ
प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ अलपाइन स्कुलस्थित सडकखण्डबाट प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । चामलको बोराभित्र लुकाइछिपाइ ल्याएको विभिन्न लागुऔषधसहित पर्सा धोबिनी गाउँपालिका–२ आशबारी बस्ने १९ वर्षीय पृथ्वीसिंह कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका कुर्मीको साथबाट चामलको बोरामा लुकाई राखिएको लागुऔषध नुफ्रिन २५० एम्पुल, डाइजीपाम २५० एम्पुल र फेनारगण २५० एम्पुल गरी जम्मा ७५० एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ। लागुऔषध बरामद गरी कुर्मीलाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।












