Kathmandu Press

प्रथम तनहुँ कृषि तथा पशुपन्छी मेला हुने

दमौली, पुस २६ : उत्पादक र उपभोक्ताबीच सीधा सम्पर्क गराउने र उत्पादनको अवस्थाबारे जानकारी दिन तनहुँको सदरमुकाम दमौलीमा प्रथम तनहुँ कृषि तथा पशुपन्छी मेला...
प्रथम तनहुँ कृषि तथा पशुपन्छी मेला हुने

दमौली, पुस २६ : उत्पादक र उपभोक्ताबीच सीधा सम्पर्क गराउने र उत्पादनको अवस्थाबारे जानकारी दिन तनहुँको सदरमुकाम दमौलीमा प्रथम तनहुँ कृषि तथा पशुपन्छी मेला हुने भएको छ। 

व्यास नगरपालिकाको आयोजना, कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बीउ व्यवसायी सङ्घको सहकार्यमा पुस ३० गतेदेखि माघ २ गतेसम्म कृषि तथा पशुपन्छी मेला हुन लागेको हो ।

Hardik ivf

कृषि उत्पादनसँग सम्बन्धित जिल्लास्थित निकायसँग आपसी समन्वयमा सशक्त भूमिका निर्वाह गरी कृषकका उत्पादन वृद्धिमा बजारीकरणमा सहयोग पु¥याउने उद्देश्य मेला गर्न लागिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । ‘इतिहासमा यहाँ उत्पादित कृषिउपज छिमेकी जिल्लादेखि देशका कुनाकाप्चासम्म पुग्ने गरेको भए तापनि हाल आएर परनिर्भर हुनुपरेको छ,’ उनले भने, ‘यो परनिर्भरता चिर्न मेलाले ठूलो भूमिका निर्वाह गर्नेछ र आत्मनिर्भर भई निर्यात गर्नसमेत विशेष सन्देश प्रवाह गर्नेछ।’

मेलामा ४०  कक्ष राखिने र सबै कक्ष कृषकलाई निःशुल्क उपलब्ध गराइनेछ । उक्त कक्षमा जिल्लाभरका कृषकले मास, तरकारी, फलफूल, महलगायतका कृषिउपज सामग्री प्रदर्शन तथा बिक्री गर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए।

मेलामा कृषि प्रदर्शनी, प्रतियोगिता, बिक्री वितरण, आधुनिक कृषि उपकरण प्रदर्शन, आधुनिक प्रविधिसम्बन्धी जानकारी एवं बिक्री वितरण, कृषि बीमा कम्पनीबाट जानकारीलगायतका कार्यक्रम गरिनेछ । जिल्लाका हरेक पालिकाबाट कम्तीमा एक पालिकाः एक उत्पादन तथा व्यास नगरपालिकाबाट कम्तीमा एक वडा एक उत्पादनको प्रदर्शन एवं उत्पादनको रणनीति अवलम्बन गरिएको छ। 

मेलाले कृषि उत्पादनसँग सम्बन्धित जिल्लास्थित निकायसँग आपसी समन्वयमा सशक्त भूमिका निर्वाह गरी कृषकका उत्पादन वृद्धिमा बजारीकरणमा उपलब्धीमूलक हुने, एकापसमा छलफल गरी कार्यगत एकता हुने, स्थानीय तहको कृषि नीतिमा सल्लाह र सुझाव दिन सहयोगी हुने उपलब्धि हासिल गर्ने बताइएको छ । मेलाको दश हजार जनाले अवलोकन गर्ने दावी छ । मेला सम्पन्न गर्न पाँच लाख बजेट अनुमानित गरिएको छ। 

जिल्लामा ४२ प्रतिशतभन्दा बढी भूभाग कृषियोग्य रहेको यहाँका ६० प्रतिशतभन्दा जनसङ्ख्या कृषिमा आधारित छन् । यहाँको जलवायु, जल, जमिन, अन्नबाली, तरकारीबाली, फलफूल पुष्पदेखि बीउ उत्पादन तथा पशुपन्छी र माछापालनको दृष्टिले उपयुक्त मानिएको छ । यहाँ उत्पादित सामग्री स्थानीय बजार एवं देशका प्रमुख सहरमा बजारीकरण गर्नका लागि उपयुक्त छ। 

माघेसङ्क्रान्ति पर्वको अवसरमा दमौलीमा कृषिउपजको बिक्री एवं प्रदर्शनी हुँदै आएकामा विगत केही वर्षदेखि यस्तो प्रचलन अवरुद्ध रहेको छ । कृषिउपजको बिक्री वितरणमा सहजता होस् र उत्पादक तथा उपभोक्ताबीचको सीधा सम्बन्ध होस् भन्ने उद्देश्यका साथ मेला पुनः सुरु गर्न लागिएको बीउ व्यवसायी सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रले बताए। ‘यसको निरन्तरताले कृषिउपज सङ्कलन बजारीकरण तथा प्रचारप्रसारमा ठूलो भूमिका र कृषकलाई अवसर एवं हौसला प्र्रदान गर्ने विश्वास लिइएको छ,’ उनले भने।

प्रकाशित मिति: १०:०९ बजे, सोमबार, पुस २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्