Kathmandu Press

वर्षाका कारण आठ करोडको इँटा नष्ट

भैरहवा, पुस २५ :  बेमौसमी वर्षाले रुपन्देहीका इँटा उद्योगमा बनाइएका आठ करोड मूल्य बराबरको काँचो इँटा नष्ट भएको छ। लुम्बिनी इँटा व्यवसायी सङ्घ...
वर्षाका कारण आठ करोडको इँटा नष्ट

भैरहवा, पुस २५ :  बेमौसमी वर्षाले रुपन्देहीका इँटा उद्योगमा बनाइएका आठ करोड मूल्य बराबरको काँचो इँटा नष्ट भएको छ। लुम्बिनी इँटा व्यवसायी सङ्घ भैरहवाका अनुसार गत हप्ता परेको वर्षाले रुपन्देहीका ४७ वटा इँटा उद्योगका आठ करोड मूल्य बराबरको इँटा गलेर नष्ट भएको हो।

वर्षाका कारण जिल्लाका सबै इँटा उद्योगमा क्षति पुगेको  लुम्बिनी इँटा व्यवसायी सङ्घले जनाएको छ। यी उद्योगमा रहेका तीन करोड २५ लाख गोटा काँचो इँटा नष्ट भएको उद्योगीहरूको भनाइ छ। वर्षाका कारणले गलेर इँटा नष्ट हुँदा अहिले मात्रै आठ करोड रूपैयाँभन्दा बढीको नोक्सानी इँटा व्यवसायीहरूलाई भएको प्रारम्भिक अनुमान गरिएको इँटा व्यवसायी सङ्घ लुम्बिनीका महासचिव अजयकुमार गुप्ताले बताए। अहिलेको वर्षाले एउटा भट्टामा कम्तीमा दुई लाखदेखि १० लाखसम्म काँचो इँटा गलेर नोक्सानी भएको उनको भनाइ छ। काँचो इँटाको बीमा पनि नहुने भएकाले राज्यले संरक्षण गर्न जरुरी रहेको व्यवसायीहरुको माग रहेको छ। रुपन्देहीमा उत्पादन हुने इँटाहरू जिल्लासँगसँगै  पाल्पा र स्याङ्जामा बिक्री हुने गरेको छ।

मङ्सिरदेखि वैशाखसम्म इँटा उत्पादन हुने समय भएको र त्यसपछिको छ महिनासम्म वर्षा मौसममा यो उद्योग बन्द रहने गर्दछ। बेमौसमी वर्षाका कारण काँचो इँटा गलेर नष्ट भए पनि बजारमा इँटाको अभाव हुन नदिन आफूहरू लागिपरेको सङ्घले जानकारी दिएको छ। अब नयाँ इँटा उत्पादन हुन एक महिना ढिलाइ हुने देखिएको छ। रुपन्देहीमा सञ्चालित इँटा उद्योगमा करिब १० अर्ब लगानी छ भने आठ हजारभन्दा बढी मजदुर कार्यरत छन्।

प्रकाशित मिति: २०:२१ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्